• २७ माघ २०८१, आइतबार

बाबुआमासँगै बालबालिका पनि मुगलान

blog

स्केच : एआई

ललित बसेल 

सुर्खेत, माघ २७ गते । सुर्खेतसँगै जोडिएको दैलेखको गुराँस गाउँपालिकामा दुई हजार ७३३ जनसङ्ख्या छ । जसमा पाँच वर्षदेखि २० वर्षसम्मका बालबालिकाको एक हजार १२१ छ । जसमध्ये बालक ६३० र बालिका ४९१ जना छन् । एउटा माध्यमिक र पाँच वटा प्राथमिक विद्यालय रहेको यस वडामा कुल विद्यार्थी ८७७ जना छन् । विद्यालयको तथ्याङ्क अनुसार ८० जना विद्यार्थी विद्यालय नै आउँदैनन् । तीमध्ये अधिकांश विद्यार्थी कक्षा ४ देखि ८ सम्मका छन् । उनीहरू बाबुआमासँगै भारत (मुगलान) गएका छन् । 

गाउँपालिकाको तल्लो डुङ्गेश्वरमा रहेको महादेव माविमा ४८० विद्यार्थी छन् । तीमध्ये २० जना विद्यार्थी भारतमा छन् । बिपी प्राविमा भर्ना भएका एक सय विद्यार्थीमध्ये २० जना विद्यालय आउँदैनन् । दुर्गादेवी प्रावि पुरैनीमा भर्ना भएका ७१ जनामा पाँच जना विद्यार्थी अभिभावकसँगै भारत गएका छन् । भैरव प्रावि रानीवन सेरिबाडामा भर्ना भएका ५३ जना विद्यार्थीमध्ये १० जना, भगवती प्रावि सेरिबाडामा भर्ना भएका ३२ जनामध्ये छ जना, भैरव प्रावि लमचुडीमा १४१ विद्यार्थीमध्ये १८ जना बालबालिका बाबुआमासँगै भारत गएका छन् ।

विद्यालय जाने उमेरका बालबालिका अभिभावकको पछि लागेर मुगलान जानु यहाँका लागि नौलो होइन । दैलेख गुराँस गाउँपालिका–२ मा यो चलन लामो समयदेखि चलिरहेको छ । जसले गर्दा बालबालिका विद्यालय शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था छ । स्थानीय दलबहादुर विकले रोजीरोटीका लागि मुगलान जानुको विकल्प नभएको बताउनुहुन्छ । गाउँका अधिकांश व्यक्ति रोजगारीका लागि भारतमै आश्रित छन् । दलित समुदायको बाहुल्य रहेको यस वडाका मानिसहरू भारत जाँदा सपरिवार जाने चलन छ । भारतमा जसले जे काम पायो त्यही गर्ने र केही कमाइ गरेर नेपाल फर्कने उनीहरूको चलन पनि हो ।

विद्यालयमा अनुपस्थित विद्यार्थी बाबुआमासँगै भारतका विभिन्न ठाउँमा गएको पाइएको छ । त्यहाँको भैरव प्रावि रानीवनका प्रधानाध्यापक नन्दा शाहीले बाबुआमा मौसमी कामका लागि मुगलान जाने भएकाले उनीहरूका सन्तान पनि उतै जाँदा विद्यालयमा अनुपस्थित देखिएको बताउनुभयो । उपस्थित नभएका बालबालिका आफ्ना बाबुआमासँग भारततिर गएको उहाँले बताउनुभयो । 

विद्यालय उमेर समूहका बालबालिका अविभावकको साथमा भारत जाँदा बालबालिकाको शिक्षा पाउने अधिकार हनन भएको भन्दै शिक्षा क्षेत्रका सरोकारवालाले पनि चिन्ता व्यक्त गरेका छन् । 

उनीहरूले आफ्नै घर फर्केर पढ्ने वातावरण बनाउन स्थानीय पालिकालगायतले रोजगार तथा आयआर्जनका कार्यक्रम सञ्चालन गरी फिर्ता ल्याउनुपर्ने माग गरेका छन् । 

गुराँस गाउँपालिका–२ का वडाध्यक्ष शेरबहादुर रावलले बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनु पर्छ भनेर आफूहरूले पहल गरे पनि कठिनाइ भोग्नुपरेको बताउनुभयो ।