• २६ माघ २०८१, शनिबार

विदेश भ्रमण जाँदा थारू पोशाक लगाएर जान्छु : परराष्ट्रमन्त्री डा. देउवा

blog

थारू पोशाकमा आफ्नो धारणा राख्नुहुँदै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा। तस्बिर : कृतबहादुर विष्ट

कृतबहादुर  विष्ट

फूलबारी (कैलाली ) माघ २६ गते। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अब विदेश भ्रमण जाँदा थारू पोशाक लगाएर जाने बताउनुभएको छ।  

नेपाली  कांग्रेस थारू विभाग र नेपाल थारू सङ्घ कैलालीको संयुक्त आयाोजनामा शनिबार कैलालीको कैलारीमा भएको प्रथम कैलाली  जिल्ला भेलामा बोल्दै उहाँले नेपालीको पहिचान भनेको बहुल सांस्कृतिक भएकोले अब विदेश जाँदा थारू पोशाक लागाएर जाने बताउनु भएको हो।

उहाँले  भन्नुभयो, ‘नेपाल बहुसांस्कृतिक देश हो , यहाँ विभिन्न जातजातिको बसोबास छ, हामीले सबैको संस्कृतिलाई संरक्षण र सम्मान गर्नुपर्छ, म सबैको पोशाक लगाउने प्रयास गर्छु।’

सोही कार्यक्रममा बोल्दै मन्त्री देउवाले थारू जातजातिको हकहितमा नेपाली कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले २०५७ सालमा कमैया प्रथा उन्मुलनमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले खेलेको भूमिकाको समेत स्मरण गर्नुभयो।


थारूजाती संस्कारी र इमानदार भएको बताउनु हुँदै मन्त्री देउवाले थारू जातिको हक र अधिकारमा नेपाली कांग्रेस सधै तत्पर रहेको दोहोर्‍याउनुभयो। उहाँले थारू समुदायमा ठुलो समस्याका रूपमा रहेको सिकलसेल एनिमिया रोग निवारणमा समेत नेपाल सरकारले पहल गरिरहेको बताउनुभयो।

फरक प्रसँगमा मन्त्री देउवाले वर्तमान सरकार मजबुद भएको समेत बताउनुभयो । यहीबिचमा परराष्ट्रमन्त्री डा. देउवाले धनगढी उपमहानगरपालिका–१८ मा रहेको फूलबारी बहुमुखी क्याम्पसको ज्ञापनपत्र बुझ्नु हुँदै क्याम्पसको विकासमा आफूले सहयोग गर्ने बताउनुभयो।