• १५ असार २०८१, शनिबार

अतिक्रमणबाट जोगाउन वन क्षेत्रमा तारजाली

blog

विजयकुमार साह
ढल्केवर, जेठ १४ गते ।
धनुषास्थित मिथिला नगरपालिका–११ स्थित शिकारी डाँडा वन क्षेत्रमा अतिक्रमण बढेपछि वन अतिक्रमण रोक्न काँडे तारको घेरा लगाउन थालिएको छ ।

सव डिभिजन वन कार्यालय लालगढ धनुषाले वन अतिक्रमण रोकथाम गर्न वन क्षेत्रमा आरसिसी पोल तथा काँडे तारले घेरा लगाउन थालेको हो ।

कार्यालयका वन अधिकृत मदन चौधरीले शिकारी डाँडा वन क्षेत्रको ३५ हेक्टरमा तारजालीले घेराबेरा गर्न लागिएको बताउनुभयो । उहाँले काँडे तारको घेरा लगाउने काम ९० प्रतिशत सम्पन्न भइसकेको र बाँकीको काम एक दुई दिनमै सकिने जानकारी दिनुभयो ।

टहरा बनाएर तथा खेतीयोग्य जग्गामा परिणत गरेर वन अतिक्रमण बढेको थियो । अतिक्रमित जग्गामध्ये करिब दुई हेक्टर जग्गासमेत खाली गराएको वन अधिकृत चौधरीले जानकारी दिनुभयो ।

२०५८ सालमा १६ सय हेक्टर वन क्षेत्र सुन्दरी सामुदायिक वन उपभोक्ता समिति गठन गरेर समुदायलाई वन संरक्षणको जिम्मा दिइएको थियो । तर, २०६२ सालमा आएर उपभोक्ता समिति निष्कृय भएपछि वन अतिक्रमणसँगै काठ तस्कीर ह्वातै बढेको थियो ।

वन अतिक्रमण तथा काठ तस्करीका कारण उजाड बनेको वन क्षेत्रमा पुनः हराभरा वनमा रुपान्तरण गर्न तारजाली गरेपछि विभिन्न प्रजातिका वृक्षरोपण पनि गर्ने वन अधिकृत चौधरीले भन्नुभयो । उहाँले यसरी तारजाली लगाउँदा वनभित्र भएका बोटविरुवाको संरक्षण हुने र स्थानीयको खेती पनि संरक्षण हुने जानकारी दिनुभयो ।

वन क्षेत्र मासिँदै गएपछि बाँदर, बँदेल, निल गाई र मृगजस्ता वन्यजन्तुले बस्तीमा भएका अन्नबाली नष्ट गर्दै आएको छ । तारजालीपछि वन्यजन्तु मानववस्तीमा जान नसक्ने र घरपालुवा जनावार पनि वन क्षेत्रमा प्रवेश गर्न नसक्ने हुँदा वन क्षेत्रका रुखविरुवा फस्टाउने दाबी वन अधिकृत चौधरीले गर्नुभयो ।

डिभिजन वन कार्यालय धनुषाका डिभिजन प्रमुख सुनिककुमार कर्णले वन अतिक्रमण नबढोस भन्नका लागि तारजाली लगाइएको बताउनुभयो । तारबार गरेर वृक्षरोपण गरी हरियाली बढाइने छ । ताराबारले वन अतिक्रमण रोकिन्छ भने काठ चोरी निकासीमा समेत नियन्त्रण हुने उहाँले जानकारी दिनुभयो ।

शिकारी डाँडा वन क्षेत्रको जमिन खेती गर्ने प्रयोजनले मात्रै अतिक्रमण भएको छैन । त्यस, स्थानमा घर टहरा बनाई स्थायी बसोवास गर्ने सुकुम्वासी र अन्यत्र घर भएकाले पनि सो स्थानमा अस्थायी घर बनाएर बसेकोले समेत वनको जमिन अतिक्रमण गर्दै गएका छन् । हालसालै अतिक्रमण गरिएका जमिन खाली गर्न लगाएको डिभिजन प्रमुख कर्णले भन्नुभयो ।