• २६ माघ २०८१, शनिबार

गभारो किराको प्रकोपले मकै किसान चिन्तामा

blog

मकैमा लागेको गभारो किरा नियन्त्रण गर्न किटनाशक औषधी स्प्रे गर्नुहुँदै चन्द्रपुर नगरपालिकाका एक किसान । तस्बिर : यादवराज पुरी

यादवराज पुरी
रौतहट, माघ २६ गते ।
मकै बालीमा गभारो किराको प्रकोपले रौतहटको उत्तरी क्षेत्रका किसान चिन्तामा छन् । व्यावसायिक रूपमा गरिएको मकै खेतीमा गभारो किरा लागेपछि बाली नै सखाप पार्ने हो कि भन्ने डरले किसान चिन्तित भएका हुन् । विशेष गरी जिल्लाको उत्तरी क्षेत्र चन्द्रपुर, गुजरा, फतुवा विजयपुर, वृन्दावन नगरपालिकाका किसानले व्यावसायिक रूपमा मकै खेती गर्दै आएका छन् ।

हाल चन्द्रपुर पालिकाको वडा नम्बर १, ८, ९ र १० मा गभारोको प्रकोप अधिक देखिएको छ । यसैगरी वृन्दावन नपाको विश्रामपुर र बलेरी क्षेत्र, गुजरा नपाको जङ्गलसहिया, मैरा, भवानीपुर, र फतुवा विजयपुरको हिमालीबास, विजयपुर, रामदाशी लगायतको क्षेत्रमा गभारोको प्रकोप अधिक रहेको सम्बन्धित पालिकाका किसानको गुनासो छ ।

स्थानीय तहका कृषि शाखा तथा जनप्रतिनिधिले किसानलाई परेको मर्काको बारेमा चासो नराखेको विजयपुरका कृषक गोविन्द चौधरीको आरोप छ । उहाँका अनुसार कृषि प्राविधिकले समय समयमा बालीनालीको सर्वेक्षण नगरेको कारण किसानको मकैबाली रोग र किराबाट प्रभावित बनेको हो ।

नगदे बालीकै रूपमा मकैको खेती गरिन्छ । किसानले अधिक उत्पादन हुने विभिन्न जातका ‘हाइब्रिड’ मकै लगाउने गरेका छन् । आधुनिकतरले खेती गरिने हुँदा मकै प्रति कठ्ठा दुई/अढाई क्विन्टल उत्पादन हुने किसानहरू बताउँछन् । तर गभारोको आक्रमणले गर्दा मकै उत्पादनमा कमी आउने चिन्ताले किसान पिरोलिएका छन् । 

चन्द्रपुर नगरपालिकामा मात्रै करिब सात हजार हेक्टर जमिनमा हाइब्रिड मकै खेती हुने पालिकाको तत्थ्याङ्क छ । पालिकाका कृषि सेवा प्रमुख उमेश चौधरी भन्नुहुन्छ, “उम्रिएर पाँच÷सात पात भएका कलिला मकैको गुभेपात मै गभारोले आक्रमण गर्ने हुनाले मकैको उत्पादनमा ह्रास आउने अधिक सम्भावना रहन्छ । माटो मै किटनाशक औषधीको प्रयोग गरी खनजोत गरेको भए उक्त समस्या आउँदैन थियो । अहिले मकै बालीमा देखिएको उक्त समस्या समाधान गर्न किसानलाइ किटनाशक औषधी प्रयोग गर्न सल्लाह दिइएको छ । उँहाहरूले सोहीबमोजिम औषधी ‘स्प्रे’ गर्नुभएको छ । अब नियन्त्रण हुन्छ ।”