काठमाडौँ, माघ २६ गते। नेपाली कांग्रेस संसदीय दलका नेता एवम् सिन्धुली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले सांसद मतमा केन्द्रित भएर जनतालाई खुसी बनाउन लाग्दा नीतिगत बहसमा सदन कमजोर देखिएको बताउनुभएको छ। गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्नुहुँदै घिमिरेले यस्तो बताउनुभएको हो। आश्वासन दिने तर पुँजीगत खर्चको अवस्था नबुझ्दा यो समस्या बढ्दै गएको उहाँको अनुभव छ। घिमिरे संसदको सार्वजनिक लेखा समिति सदस्यसमेत हुनुहुन्छ। कांग्रेस सांसद रमेश लेखक गृहमन्त्री बन्नुभएपछि घिमिरेलाई नेपाली कांग्रेसले साउन ४ गते संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएको छ।
घिमिरेको जन्म २०२२ साल भदौ २५ गते बुवा इन्द्रप्रसाद र आमा मेघकुमारीको कोखबाट सिन्धुलीको तीन पाटन गाविस १ बेलघारीमा भएको हो। नागरिकतामा भने उहाँको जन्म मिति २०२० साल चैत ३ गते उल्लेख छ। उहाँले औपचारिक शिक्षा महोत्तरी जिल्लाको साविक गौरीबास गाविस- ३ (हाल बर्दिबास नगरपालिका-३) पाटुको जनजागृत प्राथमिक विद्यालय (हाल माद्यमिक) बाट लिनुभएको हो। उहाँले २०३६ सालमा सिन्धुलीकै कमलामाई नगरपालिका–९ भिमानबाट एसएलसी दिनुभएको हो। उच्च शिक्षाका लागि उहाँ रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, जनकपुरधाम पुग्नुभयो। २०३७/३८ सालमा आइए पास गरेपछि उहाँ बिए र एमए अध्ययनका लागि ठाकुराम बहुमुखी क्याम्पस, वीरगन्ज जानुभयो। उहाँले मानविकी र इतिहासमा स्नातकोत्तर तहसम्म अध्ययन गर्नुभएको छ।
नेता घिमिरेको राजनीतिक यात्रा विद्यार्थी जीवनदेखि नै सुरु भएको देखिन्छ। उहाँ २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय हुनुभएको हो। घिमिरे जनकपुरको रामसागर क्याम्पसमा नेपाल विद्यार्थी युनियनको क्याम्पस एकाइमा अबद्ध हुँदै २०३८/३९ सालमा अध्यक्ष बन्नुभयो। त्यसपछि अध्ययनका लागि ठाकुराम बहुमुखी क्याम्पसमा भर्ना भएपछि उहाँ २०४५ सालमा विद्यार्थी युनियनको सचिव बन्नुभयो। अध्ययनकैक्रममा राजनीतिप्रति गहिरो छाप बसेका घिमिरे २०४६ सालपछि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील बन्नुभएको हो। उहाँसँग जिल्ला सदस्य, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि महासमिति सदस्य हुँदै केन्द्रीय राजनीतिमा होमिएको लामो अनुभव छ। घिमिरे २०६९ सालदेखि लगातार केन्द्रीय सदस्य बन्नुभएको १२ वर्ष भएको छ। पार्टी राजनीतिको लामो अनुभव भए पनि उहाँले पदको लाभ लिने अवसर भने कहिल्यै पाउनु भएको छैन। सिन्धुलीबाट २०७४ सालमा बागमती प्रदेश सभाका लागि उम्मेदवार बन्नुभएका घिमिरे पराजित हुनुभएको थियो। वि.सं. २०७९ को आम चुनावमा एमालेको गढका रूपमा चर्चित सिन्धुली १ बाट विजयी उहाँ पहिलो पटक सांसद प्रवेश गर्नुभएको हो।
प्रस्तुत छ – नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवम् सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य श्यामकुमार मिघिरेसँग गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा दिनेश लुइटेलले गर्नुभएको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पर्नुभएको भिडियो सामग्रीः