विजयकुमार साह
ढल्केबर, माघ २६ गते । इलाका प्रहरी कार्यालय ढल्केवर धनुषाले भन्सार चोरी निकासीका सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । धनुषाको मिथिला नगरपालिका–६, ढल्केवर चोकबाट भन्सार चोरी निकासीका सामानसहित ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले सवारी जाँचको क्रममा भन्सार प्रज्ञापनपत्र साथमा नभएको र विजकभन्दा बढी म्याक्स मार्क नाम गरेको सेतो सिमेन्ट भेटिएपछि ट्रक नियन्त्रणमा लिएको बताउनुभयो । जाँचको क्रममा प्रदेश १–०४–००१ ख ००८४ नम्बरको ट्रकमा उक्त सामान भेटिएको उहाँले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएको ट्रक र सामानको अनुमानित ३७ लाख रुपियाँ कायम गरेर थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरी निरीक्षक यादवले बताउनुभयो ।