• २६ माघ २०८१, शनिबार

एक विद्यार्थीलाई पाँच शिक्षकद्वारा अध्यापन

blog

चामे गाउँपालिका थाञ्चोकमा रहेको दिनदयाल आवि । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट
मनाङ, माघ २६ गते ।
मनाङको चामे गाउँपालिका थाञ्चोकमा रहेको दिनदयाल आविमा जम्मा एक जना मात्रै विद्यार्थी छन् । एक विद्यार्थीलाई पढाउनका लागि बालविकाससहित गरी पाँच शिक्षकको दरबन्दी रहेको छ । यो विद्यालयले कक्षा एकदेखि पाँचसम्म अनुमति पाएको छ । यस हिसाबले हेर्ने हो भने एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक रहेको देखिन्छ ।

मनाङकै सबैभन्दा दुर्गम मानिने नार्पाभूमि गाउँपालिका फुमा रहेको फु आवासीय विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य रहेको छ । कक्षा एकदेखि पाँचसम्म सञ्चालन अनुमति पाएको विद्यालयमा इसीडीमा एक र प्राविमा एक गरी दुई शिक्षकको दरबन्दी छ । यसैगरी, सोहीे पालिकाको नारमा रहेको कक्षा १–८ सञ्चालन अनुमति पाएको नार आवासीय विद्यालयमा दुई छात्रा र चार छात्र गरी ६ विद्यार्थी अध्ययनरत छन् । यहाँ शिक्षक दरबन्दी तीन रहेको छ । यस हिसाबले तीन जना शिक्षकले ६ जना विद्यार्थी पढाउँ छन् । यस गाउँपालिकामा विद्यालय सङ्ख्या दुई रहेको शिक्षा विकास तथा समन्वय इकाइ मनाङको शिक्षक विद्यार्थी वितरण २०८१ मा उल्लेख छ ।

यसैगरी, अर्को मनाङ ङिस्याङ गाउँपालिकामा विद्यालय सङ्ख्या नौ रहेको छ । नौ वटा विद्यालयका लागि शिक्षक दरबन्दी ४५ रहेको छ । यस पालिकामा रहेको एउटै मात्र मावि अन्नपूर्ण मावि मनाङमा ६५ जना विद्यार्थी अध्ययन गर्दछन् । इसिडीमा १४, कक्षा १–५ मा २०, कक्षा ६–८ मा २० र कक्षा ९–१० मा ११ गरी कुल ६५ जना विद्यार्थी अध्ययनरत रहेको तथ्याङ्कले देखाउँछ, जहाँ १७ शिक्षकको दरबन्दी रहेको छ । दरबन्दीमध्ये एक जना प्रावि शिक्षक तिमाङ काजमा हुनुहुन्छ । कक्षा १–५ अनुमति पाएको भ्राका आवि भ्राकामा विद्यार्थी आठ छ । शिक्षक दरबन्दी चार छ भने एक दरबन्दी रिक्त छ । कक्षा १–५ अनुमति पाएको घ्यारु आवि घ्यारुमा विद्यार्थी सङ्ख्या पाँच रहेको छ भने शिक्षक दरबन्दी तीन रहेको छ ।

यसैगरी, कक्षा १–८ अनुमति पाएको हुम्डे आवि हुम्डेमा तीन जना विद्यार्थी रहेको छ भने शिक्षक दरबन्दी पनि तीनै रहेको छ । यस हिसाबले हेर्दा यहाँ एक शिक्षक बराबर एक विद्यार्थी देखिन्छ ।

मनाङ ङिस्याङकै कक्षा १–५ अनुमति पाएको लालीगुराँस आवि तलेखुमा १८ जना विद्यार्थी रहेको छ भने शिक्षक दरबन्दी पाँच रहेको छ । कक्षा १–८ अनुमति पाएको ङावल आवि ङावलमा जम्मा विद्यार्थी सङ्ख्या पाँच छ भने शिक्षकको दरबन्दी चार रहेको छ । कक्षा १–५ अनुमति पाएको पिसाङ आवि पिसाङमा आठ जना विद्यार्थी छन् भने शिक्षकको दरबन्दी चार रहेको छ । कक्षा १–५ अनुमति पाएको टङ्की आवि मनाङमा दुई जनामात्र विद्यार्थी छन् भने शिक्षकको दरबन्दी पनि दुईनै रहेको छ । यसरी हेर्दा एक विद्यार्थी बराबर एक शिक्षक देखिन्छ । यसैगरी, मनाङ ङिस्याङकै कक्षा १–८ अनुमति पाएको तिलिचो आवि खाङसारमा सात जना विद्यार्थीका लागि शिक्षक दरबन्दी तीन रहेको छ ।

यसैगरी, चामे गाउँपालिकामा चार विद्यालय छन् । तीमध्ये एउटा मात्रै मावि छ । हाल लोकप्रिय मावि चामेमा कक्षा १–१२ सञ्चालनमा छ । जम्मा एक सय ३८ विद्यार्थी रहेको तथ्याङ्कले देखाउँछ । इसीडीमा ३८, कक्षा १–५ मा ३८, कक्षा ६–८ मा ३० र कक्षा ९–१० मा ३२ गरी जम्मा एक सय ३८ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा १–५ अनुमति पाएको विश्वशान्ति आवि कोतोमा चार विद्यार्थी सङ्ख्या रहँदा भएका तीन जना शिक्षक लोकप्रिय माविमा काजमा गएका छन् । कक्षा १–५ अनुमति पाएको दिनदयाल आवि थाञ्चोकमा एक जना मात्रै विद्यार्थी रहेको तथ्याङ्कले देखाएको छ भने त्यहाँ शिक्षक दरबन्दी पाँच रहेको छ । यहाँ एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक रहेको देखिन्छ ।

चामेकै कक्षा १–८ सञ्चालन अनुमति पाएको गौरीशंकर आवि तिमाङमा ८२ जना विद्यार्थी अध्ययनरत छन्, जहाँ उनीहरुलाई सात जना शिक्षकले अध्यापन गराइरहेका छन् ।

नासोँ गाउँपालिकामा जम्मा ११ वटा विद्यालय छन् । तीमध्ये अमर आवि घेराङमा तीन जना शिक्षक दरबन्दी रहेको छ भने विद्यार्थी सङ्ख्या एक रहेको छ । एक जना शिक्षक धारापानीमा काजमा गएको तथ्याङ्कमा उल्लेख छ । यसैगरी, भानु मावि तालमा सात जना विद्यार्थीका लागि १२ जना शिक्षक दरबन्दीमा रहेका छन् । जसमा तीन जना शिक्षक प्रकाशज्योति माविमा काजमा गएका छन् ।

यो विद्यालय २०७८ को बाढीले ध्वस्त पारेको विद्यालय हो । धरापानी आवि धारापानीमा एक विद्यार्थी एक शिक्षक रहेका छन् । ज्ञानोदय आवि दानाक्युमा एक जना विद्यार्थी हुँदा शिक्षक दरबन्दी पाँच रहेको छ । दुई जना शिक्षक काजमा गएको तथ्याङकमा उल्लेख छ । हिमज्योति आवि तिल्चेमा ६ जना विद्यार्थी हुँदा शिक्षक दरबन्दी ११ देखिन्छ । यस विद्यालयमा चार शिक्षक काजमा गएका छन् । जनविकास आवि ताचै र मन्सुरी आवि नाचैमा क्रमशः जम्मा विद्यार्थी सङ्ख्या तीन–तीन रहेका छन् भने शिक्षक दरबन्दी नौ र सात देखिन्छ । जनविकासका तीन र मन्सुरीका तीन शिक्षक प्रकाशज्योति माविमा काजमा गएको देखिन्छ ।

यसैगरी, नासोँकै मर्स्याङ्दी आवि खोत्रोमा विद्यार्थी सङ्ख्या दुई हुँदा शिक्षक सङ्ख्या पाँच रहेको छ, एक शिक्षक काजमा छन् । पशुपति आवि बगरछापमा जम्मा विद्यार्थी चार जना हुँदा सात शिक्षकले अध्यापन गराएको देखिन्छ । यस विद्यालयबाट पनि एक शिक्षक काजमा गएका छन् । यसैगरी, सरस्वती आवि ओढारगाउँमा दुई जना विद्यार्थी छन् भने शिक्षकको सङ्ख्या ६ रहेको छ । यस विद्यालयबाट तीन जना शिक्षक अन्य विद्यालयमा काजमा गएको देखिन्छ ।

यस पालिकाकै सबैभन्दा धेरै विद्यार्थी भएको विद्यालय प्रकाशज्योति मावि हो । यहाँ कक्षा १२ सम्म अध्यापन गराइन्छ । जम्मा विद्यार्थी सङ्ख्या एक् सय ४० रहेको यस विद्यालयमा शिक्षक दरबन्दी १४ देखाइएको छ । अन्य विद्यालयबाट १८ जना शिक्षक यस विद्यालयमा काजमा आएको तथ्याङमा उल्लेख छ ।

यस हिसाबले हेर्दा मनाङमा शिक्षकैशिक्षक विद्यार्थी कम हुँदै गएको शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख धु्रवप्रसाद कोइरालाले बताउनुभयो । उहाँका अनुसार कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । ‘‘ईसीडीमा विद्यार्थीभन्दा बढी भए पनि कक्षा बढ्दै गएपछि घट्ने गरेको छ’’, उहाँले भन्नुभयो, ‘‘शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गर्न विभिन्न योजना दिवा खाजा तथा आवासीय व्यवस्था गरिएको छ । यति गर्दा पनि विद्यालयमा विद्यार्थी घट्ने क्रममा छन् ।’’

मनाङमा बाढीपहिराको जोखिम र विद्यालय टाढा भएकाले विद्यार्थी घटेको हुन सक्ने कोइरालाले बताउनुभयो । ‘‘जिल्लाका चार पालिकाका विभिन्न विद्यालयमा विद्यालय भवन र शिक्षक छन् विद्यार्थी छैनन् । यस्तो अवस्थामा विद्यालय बन्द छन्’’, उहाँले भन्नुभयो, ‘‘केही विद्यालयमा ईसीडीका विद्यार्थीबाहेक अन्य विद्यार्थी नै छैनन् ।’’