माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), माघ २६ गते । पर्यटकीय राजधानी घोषण भएको एक वर्ष पुग्दै लाग्दा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष मनाउने तयारी भएको छ । सरकारले गत वर्ष चैत ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको थियो । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा फाल्गुन ३ गते गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो ।
पोखरा भ्रमण वर्षमा स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको उहाँको भनाइ छ । ‘भ्रमण वर्ष भरी नै पोखराको प्रवद्र्धन गर्ने कार्यक्रमहरू सञ्चालन गरिने छ,’ उहाँले भन्नुभयो,‘ विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने योजना पोखरा महानगरपालिकाले बनाएको छ ।’
घोषणा कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन नगर प्रमुख आचार्यको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मुलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा ५१ सदस्यीय एक निर्देशक समिति र अर्को १५ सदस्यीय कार्य सम्पादन समितिसमेत गठान गरिएको छ । यसका साथै पर्यटन क्षेत्रको प्रतिनिधित्व हुने गरी ४३ वटा उपसमिति गठन गरिएको आचार्यले बताउनुभयो । पोखरामा क्रियाशील सरकारी र गैरसरकारी सङ्घसंस्था, ४ वटै सुरक्षा निकाय, उद्योगी व्यवसायी, सूचना तथा सञ्चार क्षेत्र, राजनीतिक दल, टोल विकास संस्था, अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधि लगायतलाई समिति तथा उपसमितिमा सदस्य राखिएको छ ।
घोषण सभामा तीन वटै सरकारको सहभागिता हुने आचार्यले बताउनुभयो । घोषणा सभामा उप्रप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको सहभागितामा भ्रमण वर्ष घोषण गर्ने कार्यक्रम छ । माघ २९ गते पत्रकार सम्मेलन गरी भ्रमण वर्ष घोषणा कार्यक्रम बारेको सम्पूर्ण जानकारी गराइने आचार्यले बताउनुभयो । शुक्रवार भ्रमण वर्ष तयारी मुलसमितिको बैठक बसेको थियो ।