• १५ असार २०८१, शनिबार

मतदान गर्न आएका नेपाली रोजगारीका लागि भारत फर्किंदै

blog

निर्वाचनमा सहभागि हुन आएका नेपाली फेरि भारत फर्किंदै । तस्बिर : सिराज खान

सिराज खान
नेपालगञ्ज, जेठ १४ गते ।
स्थानीय तह निर्वाचनमा सहभागि हुन स्वदेश फर्किएका नेपालीहरु निर्वाचन सकिएलगत्तै रोजगारीका लागि पुनः भारत फर्किन थालेका  छन् । सोही कारणले अहिले यहाँस्थित नेपाल–भारत सीमानाका जमुनाहामा रोजगारीका लागि भारततीर जाने नेपाली युवाको अत्याधिक भीड छ ।

मतदानमा सहभागि हुन स्वदेश फर्किएका नेपालीहरु फेरि रोजगारीका लागि  भारतका विभिन्न ठूला सहरहरुमा जान लागेका कारण अहिले नाकामा दैनिक  भारत फर्किनेको ठूलो सङ्ख्या देखिएको जमुनाहा प्रहरीले जनाएको छ ।

केही समयअघि उनिहरु आउँदा नाकामा देखिएको भीड अहिले फेरि देखिन थालेको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख वरिष्ठ सई माधव रिजालले बताउनुभयो ।

उहाँले अहिले दैनिक १२ सयदेखि १५ सयसम्म नेपाली युवाहरु रोजगारीका लागि भारतका विभिन्न सहरहरुमा फर्किने गरेको बताउनुभयो । वरिष्ठ सई रिजालका अनुसार ती सबै केही दिन अघिमात्रै स्थानीय तह निर्वाचनमा मतदान गर्न नेपाल आएका थिए ।

सीमापारी रुपैडिहामा किनमेलका लागि दैनिकजसो जाने नेपालीले गर्दा सधैँ भीड हुने जमुनाहा नाकामा अहिले भोट हालेर पुनः काममा फर्किरहेका नेपालीको घुँइचो लागेकोले अत्याधिक भीडभाड बढेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार नेपालगञ्ज नाका भएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका युवाहरु भारतका विभिन्न सहरमा कामका लागि जाने गर्छन् ।

कर्णाली प्रदेशका दैलेख, जाजरकोट, रुकुम, रोल्पा, सल्यानका सबै भन्दा बढी युवाहरु यही नाकाबाट भारत जाने र फर्किने गर्दछन् ।

भारतको सिमला, हरिद्वार, प्रयागराज, अमृतसर, चण्डीगढ, जयपुर र अहमदाबादलगायतका सहरमा नेपालीहरु रोजगारीका लागि फर्किरहेका छन् ।

रोजगारीका लागि भारत पसेका नेपाली युवाहरु चाडपर्व, खेतीको बेला र निर्वाचनको समयमा केही दिनका लागि स्वदेश आउने गर्छन् ।