• २६ माघ २०८१, शनिबार

खानेपानीको सुविधा विस्तार हुँदै

blog

चौतारा समाचारदाता

सिन्धुपाल्चोक, माघ २६ गते  । खानेपानीमन्त्री प्रदीप यादवले शुद्ध खानेपानीमा नागरिकको पहँुच वृद्धि गर्न सरकारले काम गरिरहेको बताउनुभएको छ । 

सिन्धुपाल्चोकको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिकाको जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाइ समितिको नवनिर्मित भवन तथा गुणस्तरीय खानेपानी प्रशोधन केन्द्र उद्घाटन गर्दै मन्त्री यादवले एक वर्षभित्र ५७ प्रतिशत नागरिकले शुद्ध खानेपानीको सुविधा प्राप्त गर्ने दाबी गर्नुभयो । 

मन्त्री यादवले भन्नुभयो, “२७ प्रतिशत नागरिक मात्र शुद्ध खानेपानीको पहुँचमा छन् । अबको एक वर्षमा ५७ प्रतिशतले उक्त सुविधा प्राप्त गर्ने गरी सरकारले काम गरिरहेको छ ।” उहाँले भन्नुभयो, “खानेपानी आयोजना निर्माणमा नागरिकको लगानी ३० प्रतिशत छ, उपभोक्ता समितिलाई कर तिर्नुपर्ने बाध्यता छ, यो सबै नागरिकको हितमा छैनन् । हामी यस्ता निर्देशिका खारेजीको तयारीमा छौँ ।”

खानेपानी आयोजना निर्माण र शुद्ध खानेपानीमा नागरिकको पहुँच वृद्धि गर्न दातृनिकायको समन्वय र सहयोगमा तीव्र गतिमा काम भएको उहाँको भनाइ थियो । आगामी वर्षको बजेट र कार्यव्रmम देशभरका ४२ हजार उपभोक्ताको हित र आवश्यकता अनुरूप निर्माण हुने मन्त्री यादवले बताउनुभयो । लामो समयदेखि खानेपानी ऐन अलपत्र रहेकोमा गत साता खानेपानी नियमावली निर्माण गरी कार्यान्वयन गरिएको उहाँले बताउनुभयो । 

जिल्ला सदरमुकाम चौतारासहितका क्षेत्रमा खानेपानी सेवा वितरण गर्दै आएको जुगल थालखर्क होल्चे खानेपानी आयोजनाले प्रतिसेकेन्ड २५ लिटर पानी वितरण गर्ने गरी प्रशोधन केन्द्र, चार लाख लिटर क्षमताको दुई ट्याङ्की निर्माण सम्पन्न गरेको समितिका अध्यक्ष सुवास कर्माचार्यले जानकारी दिनुभयो ।