माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), माघ २५ गते । आहारारा पोखरा गोल्ड कपमा पाहुना टोली थुन्डेरबोल नर्थ युनाइटेड भारतले संकटा क्लबलाई ३–१ गोलले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको छ ।
शुक्रबार पोखरा रङ्गशालामा भएको खेलमा नर्थ युनाटेडका टाला, करण राई र आदर्श तामाङले एक–एक गोलको योगदान दिनुभयो । खेलमा संकटा क्लबका मनिष पौडेलले खेलको १७ औं मिनेटमा गोल गर्नुभयो । खेलमा लिएको अग्रतालाई जोगाउन नसक्दा संकटा प्रतियोगिताबाट बाहिरिएको छ ।
खेलको ३५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेर नर्थ युनाइटेडका टालाले खेललाई बराबरीमा ल्याउनुभयो । डिबक्सभित्र संकटका खेलाडीले करण राईलाई लडाएपछि युनाइटेडले पेनाल्टी पाएको थियो ।
खेलको ७७ औँ मिनेटमा करण राईले गोल गरेर खेललाई २–१ मा पुर्याउनुभयो । उहाँले आन्दरेवले मिलाइदिएको पासलाई डिबक्सबाट गोलमा परिणत गर्नुभएको हो । खेलको ८९ औँ मिनेटमा आदर्श तामाङले अर्को गोल गरेर जितलाई सुनिश्चित पार्नुभयो । मैदानको मध्यभागबाट उहाँले प्रहार गरेर बल पोस्टमा छिरेको थियो ।
खेलमा संकटाले केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन । खेलको २० औँ मिनेटमा अभिनाश स्याङताले प्रहार गरेको बललाई विपक्षी किपर लाक्पा भुटियाले समाउनुभयो । खेलको ५० औँ मिनेटमा चन्दनकुमार दासले वान भर्सेस वानको अवस्थामा प्रहार गरेको बल किपरको शरीरमा लागेर रिबाउन्ड भयो । खेलको ६७ औँ मिनेटमा अबेकाह रिचार्डले हानेको बल फस्टबारमा लागेर रिबाउन्ड भएको थियो ।
संकटाका प्रशिक्षक रवीन्द्र शिलाकारले खेलाडीबिचमा तालमेल नहुँदा हार्नु परेको बताउनुभयो । नर्थ युनाइटेडका प्रशिक्षक सोनम भुटियाले खेलाडी राम्रो खेलेकाले नजिता आफ्नो पोल्टामा परेको बताउनुभयो । शनिबारदेखि क्वार्टरफाइनलका खेल हुनेछन् । पहिलो क्वार्टरफाइनल खेल ब्रिगेड ब्याइज क्लब युके र नेपाल पुलिस क्लबबिच हुनेछ । युकेको टोली पोखरा आइसकेको छ ।