• २८ फागुन २०८१, बुधबार

अध्ययन संस्कृतिको विकासमा राज्यको सक्रिय सहभागिता हुनुपर्नेमा जोड

blog

तस्बिर : रासस

काठमाडौँ, माघ २५ गते । पठन संस्कृतिको प्रवद्र्धन गर्न तथा पुस्तकालयको दिगो विकास र संरक्षणमा राज्यको सक्रिय सहभागिता हुनुपर्नेमा सरोकार भएकाहरुले जोड दिएका छन् । 

काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको २१ औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित समारोहमा सहभागीले पुस्तकालयको संरक्षण, व्यवस्थापन, अध्ययन संस्कृतिको प्रवद्र्धनमा राज्य तथा स्थानीय तह लाग्नुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले पुस्तकालय अध्ययनशील समाज निर्माणको आधार भएकाले यसको संरक्षण, व्यवस्थापन, प्रवद्र्धनमा महानगरले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पढ्ने बानी बसाल्न पुस्तकालयको महत्वपूर्ण भूमिका हुन्छ । अध्ययनशील समाज नै समृद्ध समाज हो । पुस्तकालयले सबैलाई पढ्ने वातावरण दिन सक्छ ।”

महानगरका साथै प्रत्येक वडा र विद्यालय तहबाट अध्ययन संस्कृतिको विकास गर्न सामुदायिक अध्ययन केन्द्रहरूको प्रवद्र्धनमा जोड दिइएको डङ्गोलले उल्लेख गर्नुभयो । उहाँका अनुसार महानगरले पुस्तकालय व्यवस्थापन तथा संरक्षणमा विशेष ध्यान दिँदै चालु आर्थिक वर्षमा एक करोड बजेट व्यवस्था गरेको छ । साथै सार्वजनिक पुस्तकालयको संरक्षणका लागि महानगर अभिभावकत्व ग्रहण गर्न तयार रहेको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभाका सांसद सन्तोष परियारले पुस्तकालयलाई अध्ययन संस्कृतिको केन्द्रका रुपमा विकास गर्न राज्यको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “देशको अवस्था बदल्न पुस्तकको पाना बदल्ने बानीको विकास आवश्यक छ । पठन संस्कृतिको प्रवद्र्धनका लागि पुस्तकालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको विकास र संरक्षणमा राज्य गम्भीर हुनुपर्छ ।”

समाजका संस्थापक अध्यक्ष तथा संरक्षक डा.नारायण खड्काले पुस्तकालय ज्ञान र सूचनाको केन्द्रमात्र नभई मुलुकको परिवर्तन, सभ्यता र इतिहासको वैभवसमेत भएको बताउँदै यसलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । समाजका अध्यक्ष डा.गोविन्द पोखरेलले पुस्तकालयको संरक्षण तथा व्यवस्थापनमा सबै सरोकार भएकाको सहकार्य अपरिहार्य रहेको बताउँदै पुस्तकालयलाई अध्ययन संस्कृतिको केन्द्रका रुपमा अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस