• २५ माघ २०८१, शुक्रबार

अस्पताल बन्यो, उपकरण छैनन्

blog

हरि कोइराला

उर्लाबारी, माघ २५ गते । मोरङको कानेपोखरी ४ बयरवनमा कानेपोखरी अस्पतालको सुविधासम्पन्न भवन निर्माण अन्तिम चरणमा पुगेको छ  । तत्कालीन बयरवन स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शय्यामा विस्तार भएको कानेपोखरी अस्पताल यतिबेला उपकरणको खोजीमा छ । 

आठ करोड ५० लाख रुपियाँमा काठमाडौंको प्रतिष्ठा के एन केडी जेभीले निर्माण सम्पन्न गर्न लागेको भवनलाई पूर्णरुपमा सञ्चालन गर्न पहिलो चरणमा झण्डै ५० करोड रुपियाँका उपकरण आवश्यक पर्छ । 

अस्पतालका प्रशासन प्रमुख रोहिन्द्र राजभण्डारीले भन्नुभयो, थाइराइड परीक्षणसहितको ल्याब सेट, बायो क्यामेष्ट्रीबाट सञ्चालन हुँदै आएको अस्पतालका लागि आधुनिक एक्सरे मेसिनका लागि भरखरै टेण्डर आह्वान भएको छ । भवन बन्यो तर अस्पताललाई आवश्यक पर्ने उपकरण खरिद गर्ने हैसियत अस्पतालको छैन । राजभण्डारीले भन्नुभयो – प्रदेश र सङ्घीय सरकारसँग उपकरण मागका लागि पहल भइरहेको छ ।

गाउँपालिका अध्यक्ष राजमति इङ्नामले केही उपकरणको टेण्डर भइसकेको र केही उपकरणका लागि सङ्घ र प्रदेश सरकारसँग माग गरेका छौं । एकै पटक सबै उपकरण प्राप्त गर्न गाह्रो होला । तर हरेक वर्ष आन्तरिक स्रोत र सङ्घ प्रदेशबाट अस्पतालमा उपकरण भर्ने काम गरिनेछ । 

दैनिक तीन सय बिरामीलाई उपचार सेवा दिइरहेको कानेपोखरी अस्पतालमा गाउँपालिकाले आफ्नै स्रोतबाट दुई जना मेडिकल अधिकृत राखेर सेवा प्रवाह गरिरहेको छ । तत्कालीन स्वास्थ्य चौकीको साँघुरो भवनबाट सेवा दिइरहेको अस्पतालले नयाँ भवनबाट सेवा दिनका लागि धमाधम उपकरण जुटाउने काम गरिरहेको अस्पतालका प्रशासन प्रमुख रोहिन्द्र राजभण्डारीले बताउनुभयो ।