विजयकुमार साह
ढल्केबर, माघ २५ गते । धनुषाको मिथिला बिहारी नगरपालिका–२, पुरन्दाहामा १२ औं नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव आज (शुक्रबार) देखि सुरु भएको छ । प्रकृति संरक्षणमा लाटोकोसेरोको भुमिकाबारे जनचेतना फैलाउने उद्देश्यले दुई दिने उत्सवको आयोजना गरिएको हो ।
मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषा र प्रकृतिका साथीहरु नामक संस्थाको सहकार्यमा चन्देश्वर आधारभूत विद्यालय नजिक उत्सव आयोजना गरिएको आयोजक मूल समितिका संयोजक देवनारायण मण्डलले बताउनुभयो । उहाँले यो उत्सवले पर्यावरण संरक्षणमा ठूलो योगदान पुर्याउने बताउँदै यसले बालबालिकामा प्रकृतिप्रति माया र संरक्षणको भावना बढाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा मिथिलाको सांस्कृतिक झल्को दिने नाचगान, स्थानीय लोपोन्मुख खेलकुद प्रदर्शनी, रैथाने परिकारको बिक्रीवितरण र हस्तकलाका सामग्री प्रदर्शन गरिएका छन् । लाटोकोसेरोको विशेष रोबोट, अस्थायी सङ्ग्रहालय, र आठ प्रजातिका लाटोकोसेरोको आवाज सुन्ने तथा भिडियो हेर्ने व्यवस्था पनि गरिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको प्राकृतिक विज्ञान सङ्ग्रहालयबाट लाटोकोसेरोको नमूना पनि प्रदर्शनीमा राखिएको छ ।
वन्यजन्तु अनुसन्धानकर्ता र वातावरण संरक्षणका विशेषज्ञले चरा संरक्षण, तस्करी नियन्त्रण र पर्यावरणीय सन्तुलनका विषयमा जानकारी प्रस्तुत गर्नेछन् । साथै, स्थानीय उत्पादनहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।
प्रकृतिका साथीका निर्देशक राजु आचार्यले लाटोकोसेरो किसानका सच्चा साथी भएको बताउनुभयो । उहाँका अनुसार एउटा लाटोकोसेरोले एक मौसममा झण्डै तीन हजार मुसा खाएर किसानलाई सहयोग पुर्याउँछ । लाटोकोसेरोले किरा फट्याङ्ग्रा, सर्प र भ्यागुता नियन्त्रणमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ।
उहाँले भन्नुभयो, “नेपालमा हाल २३ प्रजातिका लाटोकोसेरो पाइन्छन् जसमा आठ प्रजाति दुर्लभ मानिन्छन् । दुई प्रजाति लोप भइसकेको अनुमान छ । नेपालबाट वार्षिक दुई हजारभन्दा बढी लाटोकोसेरोको अवैध तस्करी हुने गरेको छ जुन पर्यावरणीय सन्तुलनका लागि गम्भीर खतरा हो ।”
उत्सवको आयोजना यसअघि धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, र खोटाङमा सफलतापूर्वक सम्पन्न भइसकेको छ । यसपटकको उत्सवले पूर्वी नेपालमा लाटोकोसेरो संरक्षण र यसको महत्त्वबारे गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ । उत्सवको उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, संरक्षणकर्मी, विद्यार्थी, र पर्यावरणप्रेमीको उल्लेख्य सहभागिता रहेको छ ।