• २९ फागुन २०८१, बिहिबार

आगलागी न्यूनीकरण अभियान

blog

सल्यान समाचारदाता

सल्यान, माघ २५ गते । वन डढेलोको बढ्दो घटनालाई ध्यानमा राख्दै सल्यानमा आगलागी रोकथाम तथा व्यवस्थापनसम्बन्धी सचेतना अभियान सुरु गरिएको छ । गर्मी समय बढेसँगै जिल्लामा विभिन्न सामुदायिक वनमा आगलागीको जोखिम बढिरहेका बेला सक्रिय रूपमा वन डढेलो रोकथाम नियन्त्रण तथा व्यवस्थापनको सरसफाइ अभियान थालिएको हो । 

शारदा नगरपालिका–२ मा रहेको वन क्षेत्रनजिक रहेका जिल्ला अस्पताल, सल्यान बहुमुखी क्याम्पस वरपर रहेका प्रज्वलनशील वस्तु हटाइँदै जोखिम न्यूनीकरणको प्रयास गरिएको हो । यहाँ बर्सेनि आगो लाग्दै आएकाले जोखिम न्यूनीकरणका लागि सरसफाइ गरिएको हो । डिभिजन वन कार्यालयका प्रमुख टेकबहादुर रावलले आगलागी जोखिमयुक्त स्थानको पहिचान गरी अग्निरेखा निर्माण, सरसफाइ अभियान तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । 

सुक्खायाम सुरु भएसँगै सल्यानमा आगलागी नियन्त्रण तथा न्यूनीकरणका लागि प्रशासनले पहल थालेको छ । प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले यस क्षेत्र सल्ला प्रजातिका रुखले भरिएको हुँदा आगलागीको उच्च जोखिम रहेको बताउनुभयो । उहाँले सुक्खायाम सुरु भएसँगै जथाभाबी फालिएका फोहोर, सुक्खा पात तथा प्लास्टिकका कारण आगलागी फैलिने सम्भावना अझ बढी हुने भएकाले सरसफाइ अभियानमा ध्यान दिन आग्रह गर्नुभयो । 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी केशरकुमार न्यौपानेका अनुसार आगलागी न्यूनीकरणका लागि थप सचेतना कार्यक्रम र निगरानी बढाइने बताउनुभयो । उहाँका अनुसार सुक्खायाममा आगलागीको जोखिम धेरै भएकाले यस्तो अभियान नियमित सञ्चालन गरिने छ । डिभिजन वन कार्यालय सल्यानले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, स्थानीय निकायको सहकार्यमा सञ्चालित अभियानमा प्रहरी प्रशासन, वन कार्यालयका कर्मचारी, स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख, शिक्षकलगायत सहभागी भएका छन् ।