• २८ फागुन २०८१, बुधबार

बिपीलाई सम्झिँदै कलाकर्मीले थाले अभियान

blog

गोरखापत्र समाचारदाता

ललितपुर, माघ २५ गते । कलाकर्मीले राजनीतिक रूपान्तरण, आर्थिक विकास र नागरिकको स्वतन्त्रताका पक्षमा गरेको त्याग र बलिदानलाई मुखरित गर्दै मञ्चमा उत्रिनुभयो कलाकार शिवहरि नेपाल ‘वैरागी’ । उहाँले प्रहसन प्रस्तुत गर्दै गर्दा हाँसोको फोहोरा फुट्यो । तर जब महामानव, साहित्यकार बिपी कोइरालाको प्रतिमा अगाडि उभिएर समकालीन राजनीतिको साविती बयान प्रस्तुत गर्नुभयो, सबैको आँखा रसाए । 

नेपाली सांस्कृतिक महासङ्घले विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान आरम्भ गर्न बिहीबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको समारोहमा कलाकर्मीले आफ्ना वेदना सुनाए, नाचे, गाए र मनोरञ्जन प्रदान गरे । कार्यक्रममा कलाकारहरू विमलराज क्षेत्री, राधिका हमाल, प्रभाकरदेव शर्मा, सुजाता केसी, शशि पुन, विपीन घिमिरे, कृष्ण पुन, महेश प्रसार्इं, सन्ध्या सानु, उमाशङ्कर जोशी, डिल्ली गिरी, प्रतिमा अर्याललगायतले सांस्कृतिक प्रस्तुतिसँगै आफ्ना सिर्जना वाचन गर्नुभयो ।

महासङ्घका सभापति तीर्थबहादुर थापाले सांस्कृतिक जागरणका लागि देशैभरि अभियान सञ्चालन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसले गरेका कामबारे जानकारी र जनताबाट खबरदारीका लागि अभियान थालिएको हो ।” कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले कलाकर्मीले देशका लागि गरिरहेको योगदानलाई पार्टीले सम्मान गर्ने बताउनुभयो ।