• २४ माघ २०८१, बिहिबार

मन सफा भयो भने सबै ठिक हुन्छः मुख्यमन्त्री लामा

blog

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले बिहीबार आयोजना गरेको तनाव व्यवस्थापन, योग तथा ध्यान अभ्यास तथा स्वजागरण कार्यक्रममा धारणा राख्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङ।तस्बिरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, माघ २४ गते। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले आफ्नो मन सफा भयो भने सबै ठिक हुने बताउनुभएको छ।

उहाँले जीवनमा खुशी कसरी प्राप्त हुन्छ भन्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भएको भन्दै आफू सकारात्मक हुँदा समाजलाई सकारात्मक बाटोतर्फ लैजानसमेत सहज हुने बताउनुभयो। 

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले बिहीबार यहाँ आयोजना गरेको तनाव व्यवस्थापन, योग तथा ध्यान अभ्यास तथा स्वजागरण कार्यक्रममा बोल्दै उहाँले हामी नकारात्मक भयौ भने सबै नकारात्मक देख्छौ तर सकारात्मक भयौ भने सबै ठिक हुने बताउनुभयो।

मुख्यमन्त्री लामाले जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा खुशी हो, अरुलाई रिस राग ग¥यो भने सबैभन्दा तनाव हुन्छ भन्दै सकारात्मक भए डर पनि नहुने बताउनुभयो। 

अरुप्रति रिस राग राख्ने र डाहा गर्नेले प्रगति गर्न सक्दैन भन्दै उहाँले आफूले पनि सकारात्मक धारणाकै कारण सफलता प्राप्त गरेको र मुख्यमन्त्रीसम्म हुन पुगेको सुनाउनुभयो। 

कार्यक्रममा बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठक, प्रदेश सरकारका मन्त्री, प्रदेश सभाका सदस्यलगायतको सहभागिता रहेको थियो।