• २४ माघ २०८१, बिहिबार

प्रतिष्ठानको बजेट वृद्धि गरी आदिवासी जनजातिको उत्थानमा लगाउनुपर्छः अध्यक्ष शेर्पा

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन)का अध्यक्ष गेल्जे लामा शेर्पा। तस्बिरः केशब गुरुङ

काठमाडौँ, माघ २४ गते। नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन)का अध्यक्ष गेल्जे लामा शेर्पाले प्रतिष्ठानले आदिवासी जनजातिको उत्थान र विकासका लागि धेरै काम गर्नुपर्ने भएकोले प्रतिष्ठानको बजेट वृद्धि गरेर ५० करोड बनाउन सरकारसँग माग गर्नुभएको छ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २४औँ स्थापना दिवसका क्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। अध्यक्ष शेर्पाले आदिवासी जनजाति आयोग र आदिवासी जनजाति उत्थान प्रतिष्ठानको विषयमा दुविधा आइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘प्रतिष्ठान र आयोगको भूमिका फरक–फरक भएको हुनाले प्रतिष्ठानको औचित्यमाथि प्रश्न उठाउन पाइँदैन । प्रतिष्ठानलाई व्यवस्थित र स्रोतसाधन सम्पन्न बनाएर आदिवासी जनजातिको उत्थान र विकास हुनुपर्छ । संविधान संशोधनको कुरा उठिरहेको सन्दर्भमा आदिवासी जनजातिको अधिकार कटौती गर्ने षड्यन्त्र हुनसक्ने भन्दै उहाँले यसमा सचेत हुनुपर्ने बताउनुभयो। प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको अध्यक्षता तथा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।