• २४ माघ २०८१, बिहिबार

रोमाञ्चक खेलमा थाइल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स उपाधि होडमा

blog

रन बटुल्दै नेदरल्यान्ड्सका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, माघ २४ गते । थाइल्यान्डमाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै नेदरल्यान्ड्सले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा उपाधि सम्भावना कायम राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको खेलमा जितका लागि थाइल्यान्डले प्रस्तुत गरेको एक सय १० रनको लक्ष्य नेदरल्यान्ड्सले अन्तिम बलमा नौ विकेटको क्षतिमा पूरा गरेको थियो ।

नेदरल्यान्ड्सका लागि फेबे मोल्केनबोएरले ३२, रोबिन रिज्केले २० र स्टेर कालिसले १४ रन बनाउनुभयो । बलिङमा थाइल्यान्डकी थिपाच्चा पुथावोङले चार विकेट लिनुभयो । ओनिचा कामचोम्फुले तीन तथा फनिता मायाले दुई विकेट झार्नुभयो । 

यसअघि टस जितेर ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय नौ रन बनाएको थियो । थाइल्याल्डका लागि नाथकन चन्थमले ३६ रन बनाउनुभयो । चनिदा सुथिरुङले ३२, कप्तान नारुमोल चाइवाईले १५ र सुवानन खियाओटोले अविजित १० रन बनाउनुभयो । 

बलिङमा नेदरल्यान्ड्सकी आइसिज आइरिस ज्वीलिङले  तीन तथा हेथर सेगर्सले दुई विकेट लिनुभयो । जितसँगै ६ खेलमा आठ अङ्क जोडेको नेदरल्यान्ड्सले उपाधि सम्भावनालाई कायमै राखेको छ । पहिलो पराजय ब्यहोरेको थाइल्यान्डको पनि पाँच खेलबाट आठ अङ्कनै छ ।

हारेपनि थाइल्यान्डको उपाधि सम्भावना बलियो छ । नेदरल्यान्ड्स उपाधि जित्न शुक्रबार नेपालले थाइल्यान्डलाई फराकिलो अन्तरले हराउनु पर्ने हुन्छ । नेपाल यसअघिनै उपाधि होडबाट बाहिरिए सकेको छ ।