• २५ माघ २०८१, शुक्रबार

सिन्धुपाल्चोकमा नौ हजारले लगाए एचपिभी खोप

blog

चौतारा साँगाचोकगढी नगरपालिका –१० स्थित रामदेवी माविमा खोप लगाउँदै स्वास्थ्यकर्मी । तस्बिरः विदुर आचार्य

विदुर आचार्य

चौतारा, माघ २४ गते । पाठेघरको मुखको क्यान्सरबिरुद्धको एचपिभी खोप नौ हजार चार सय १५ जनाले लगाएका छन् । मंगलबारदेखि दिन सुरु गरिएको खोप अभियानको तेस्रो दिनसम्ममा झण्डै ९० प्रतिशत किशोरीहरुमा खोप लगाइएको हो । 

जिल्लाभर एकसय ३ वटा केन्द्रबाट प्रवाह गरिएको खोप सेवामा पहिलो दिन  चार हजार सात सय ४४,  दोस्रो दिन तीन हजार एकसय ७२ र तेस्रो दिन एक हजार चार सय ९९ जनाले खोप लगाएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । 

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको अनुसार कक्षा ६ देखि कक्षा १० सम्मका किशोरीलाई खोप कार्यक्रममा सहभागी गराइँदैछ । विद्यालय बाहिर रहेका १० वर्ष देखि १४ वर्ष सम्मका किशोरीहरुलाई खोप दिइँदैछ । 

भविष्यमा हुनसक्ने पाठेघर क्यान्सरको जोखिम न्यूनीकरणका लागि  खोप अभियानकै रुपमा सुरु भएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले जानकारि दिनुभयो । सिन्धुपाल्चोकमा माघ २२ बाट खोप सुरु भई माघ २९ गतेसम्म सञ्चालन हुनेछ । कतिपय स्थानीय तहले भने माघ २९ अगावै खोप सञ्चालन सम्पन्न गर्नेगरी खोप तालिका निर्माण गरी खोप सेवा प्रदान गरिरहेका छन् । 

खोप सेवा स्रञ्चालनको लागि जिल्लाका सबै स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरु खोप केन्द्रमा परिचालित भएका छन् । खोप सञ्चालनसम्वन्धि अभिमुखिकरण कार्यक्रम पश्चात आवश्यक खोप सबै खोप केन्द्रमा ब्यवस्थापन गरी सेवा निरन्तर गरिएको प्रमुख बजगाईले जानकारी दिनुभयो । उहाँले उक्त खोप पूर्ण सुरक्षित रहेकाले लक्षित बर्गलाई विश्वस्त भइ सेवा लिन अनुरोध गर्नुभयो ।  

जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार सिन्धुपाल्चोक जिल्लामा विद्यालय वाहिर रहेका ८० जनासहित कूल १० हजार ३ सय ४८ जना किशोरीमा खोप लगाइने छ । सेवा सुचारु भएको तेस्रो दिनसम्ममा विद्यालय वाहिर रहेका एकसय १३ जना किशोरीहरुले खोप लागाइसकेका छन् । 

जिल्लाका १२ स्थानीय तहमध्ये सबैभन्दा बढी मेलम्ची नगरपालिकामा १ हजार ७ सय ४५ र सबैभन्दा कम लिसंखुपाखर गाउँपालिकामा ३ सय ५ जनामा खोप दिइने जनस्वास्थ्य कार्यालयले जनाएको छ । माघ २२ देखि फागुन ६ गतेसम्म राष्ट्रिय अभियानको रुपमा  सञ्चालन हुनेछ ।