काठमाडौं, माघ २४ गते । सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले जारी गरेको अध्यादेशको समर्थन गरेको छ । बिहीबार नयाँ बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले अध्यादेशको समर्थन गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठकले कांग्रेसका सम्पूर्ण सांसदलाई संसद र समितिका गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशिल रहन निर्देशन दिएको बताउनुभयो ।
राष्ट्र र जनताका हितमा पूर्णरुपमा समर्पित रही काम गर्दै सोहीअनुसार विधायनको कार्य गर्ने जनताका सरोकारका विषय सदनमा उठाउन निर्देशन दिएको छ ।
बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ गर्न संविधानको व्यवस्थाबमोजिम धेरै कानुन निर्माण गर्न बाँकी रहेको भन्दै संविधानको कार्यान्वयनका लागि आवश्यक विधेयक अविलम्व संसदमा प्रस्तुत गर्न सरकारलाई आग्रह गरेको छ ।
प्रमुख सचेतक घिमिरेले भन्नुभयो, ‘‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ गर्न संविधानको व्यवस्थाबमोजिम धेरै कानुन निर्माण गर्न बाँकी छन् । संविधानको कार्यान्वयनका लागि आवश्यक विधेयक अविलम्व संसदमा प्रस्तुत गर्न नेपाल सरकारलाई आग्रह गर्दछ । संसदमा विचाराधिन रहेको विधेयकहरु आउँदो अधिवशेनबाट पारित गर्न संसदीय समितिमा आवश्यक नेतृत्वदायी भूमिका निर्वाह गर्न नेपाली कांग्रेसका सम्पूर्ण मान्य सदस्यहरुलाई यो बैठक निर्देशन गर्दछ ।’’
विचाराधिन रहेको विधेयकहरु आउँदो अधिवशेनबाट पारित गर्न संसदीय समितिमा आवश्यक नेतृत्वदायी भूमिका निर्वाह गर्न नेपाली कांग्रेसका सम्पूर्ण सांसदहरुलाई निर्देशन गरेको छ ।
उहाँले भन्नुभयो, ‘‘नेपालको संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरणका लागि संविधानको सार्थक कार्यान्वयन आजको महत्त्वपूर्ण एजेण्डा हुन् । नेपाली कांग्रेस संसदीय दलको यो बैठक कांग्रेसका सम्पूर्ण मान्य सदस्यहरु, संसद र समितिका गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशिल रहन, राष्ट्र र जनताका हितमा पूर्ण रुपमा समर्पित रही काम गर्दै सोहीअनुसार विधायनको कार्य गर्ने जनताका सरोकारका विषय सदनमा उठाउने प्रतिवद्धता व्यक्त गर्दछ ।’’
उहाँले थप्दै भन्नुभयो, ‘‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धि सम्बन्धि ११, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवासम्बन्धी १२, भूमिसम्बन्धी ३, आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐन, २०७६, निजीकरण ऐन, २०५० र सहकारी ऐन, २०७४ समेत गरी २९ वटा विद्यमान ऐनमा केही समसामयिक विषयमा सम्बोधन गर्न कार्यविधिगत स्पष्टता गर्न केही प्रावधान संशोधन गरी नेपाल सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिज्युबाट जारी भएको अध्यादेशहरुलाई यो बैठक समर्थन गर्दछ ।’’
अध्यादेश संसदबाट पारित गर्नका लागि प्रतिनिधिसभामा सहज भए पनि राष्ट्रिय सभामा केही सदस्यको कमी हुने भएकाले जनता समाजवादी पार्टी, नेपालले सहयोग गर्ने सहमति बनिसकेको बताउनुभयो । उहाँले जसपा, नेपालले समर्थन गरेसँगै आजै अध्यादेश पारित हुने दाबी गर्नुभयो ।
प्रमुख सचेतक घिमिरेले भन्नुभयो, ‘‘आज अध्यादेशहरु सबै पेश हुन्छ र यसमा ५१ वटा अस्वीकारका सूचना परेका छन् । यो सबैमाथि छलफल हुन्छ । अस्वीकारका सूचना अस्वीकार गरिनेछ । अध्यादेश पास हुनेछ । प्रतिनिधि सभामा केही समस्या छैन, राष्ट्रिय सभामा समस्या हो, त्यो मिलिसक्यो, जसपा, नेपालले समर्थन गर्दछ । प्रधानमन्त्रीलाई हिजो पनि भोट हालेको हो । उहाँहरुबाट पूर्ण रुपमा सहयोग हुनेछ । उहाँहरु समर्थन गर्ने कुरामा उहाँहरु सकारात्मक हुनुहुन्छ ।’’