काठमाडौं, माघ २४ गते । हनी ट्रयापमा संलग्न रहको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य रहेका छन् ।
अस्मिताले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रिक सामानहरू मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउने बहानामा पटक–पटक मोबाइलमा सम्पर्क गरी माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र प्रहरी तथा परिवारमा समेत भनी दिन्छु भनी धाक धम्की, डर त्रास देखाई पीडितसँग रकम असुली गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१३ कुलेश्वरबाट मङ्गलबार पक्राउ गरेको छ ।
उनलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ ।