• २४ माघ २०८१, बिहिबार

अभियोगपत्र अध्ययन गर्न छानबिन कार्यदल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २४ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा दायरका क्रममा त्रुटि भएको आरोपमा जिल्ला न्यायाधिवक्तामाथि छानबिन कार्यदल गठन भएको छ । महान्यायाधिवक्ता कार्यालयले बुधबार छानबिनका लागि कार्यदल गठन गरेको हो । 

प्रहरी प्रतिवेदन अनुसार मुद्दा दायर नभएको विषयमा जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानबिनको निर्णय भएको हो । लुइँटेललाई मङ्गलबार नै महान्यायाधिवक्ता कार्यालयमा फिर्तासमेत बोलाइएको छ ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले छानबिन समिति गठन भएको बताउनुभयो । दाहालले भन्नुभयो, “अभियोगपत्रमा कुनै त्रुटि भए वा नभएको अध्ययन गरी यथाशीघ्र प्रतिवेदन दिने गरी कार्यदल बनेको छ । कार्यदलले अभियोगपत्र अध्ययन गरेर महान्यायाधिवक्तासमक्ष प्रतिवेदन दिन्छ ।’’

मुद्दा दायरको विषयमा विवाद भएपछि महान्यायाधिवक्ता रमेश बडालले कार्यदल गठन गर्नुभएको हो । कार्यदलको संयोजक नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजाल हुनुहुन्छ । कार्यदलमा सहन्यायाधिवक्ताद्वय सूर्यराज दाहाल, ईश्वरीप्रसाद ढकाल र उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य हुनुहुन्छ । ढकाल उच्च सरकारी वकिलको कार्यालय हेटौँडाको प्रमुख र आचार्य महान्यायाधिवक्ता कार्यालयमा कार्यरत हुनुहुन्छ । 

चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा मुद्दा दायरका क्रममा लामिछानेलाई सङ्गठित अपराधमा मुद्दा नचलाएको विषय विवादित बनेको छ । समान प्रकृतिको आरोपमा अन्य जिल्लामा सङ्गठित अपराधमा मुद्दा चलाइँदा चितवनमा भने ठगीमा मात्र मुद्दा चलाइएको थियो । रविबाहेक अन्यलाई भने सङ्गठित अपराधमा पनि मुद्दा चलाइएको छ । लामिछानेमाथि सहकारीबाट गोर्खा मिडियामा प्राप्त रकम खर्चमा संलग्नता रहेको आरोप अभियोगपत्रमा लगाइएको छ । 

जिल्ला अदालतमा मुद्दा दायर गरिएका ३२ जनामध्ये १२ जनालाई सङ्गठित अपराध र ठगीमा मुद्दा चलाइएको छ । अन्यको हकमा सहकारी ठगीमा मात्र मुद्दा दायर भएको छ । गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशकका रूपमा रविलाई ठगीमा मात्र मुद्दा चलाइए पनि अर्का सञ्चालक छविलाल जोशीलाई सङ्गठित अपराधमा पनि मुद्दा चलाइएको छ । जोशीको अन्य कम्पनीमा पनि संलग्नता देखिएकाले सङ्गठित अपराधमा मुद्दा चलाइएको सरकारी वकिल कार्यालयको जिकिर छ । दोहोरो संलग्नता नदेखिएका व्यक्तिको हकमा सहकारी ठगीमा मात्र मुद्दा चलाइएको दाबी सरकारी वकिल कार्यालयको छ ।   मुद्दा चलाइएकामध्ये जिबी राई, सागर केसी, हेमन्त अधिकारी, भूपेन्द्र राई, अनन्तबाबु राई, देवेन्द्रबाबु राई, दिनेश रोका, छविलाल जोशी, कुमार रम्तेल, दीपक लामालगायतलाई भने सङ्गठित अपराध र ठगीमा मुद्दा दर्ता गरिएको छ ।

सहारा बहुउद्देश्यीय सहकारीबाट गोर्खा मिडिया प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ रुपियाँ रकम गएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । कम्पनीमा गएको रकमलाई नै बिगो कायम गरिएको छ ।