• १३ असार २०८२, शुक्रबार

राजमार्गका जोखिमयुक्त स्थानको अनुगमन

blog

पहिरो जाने स्थान अनुगमन गर्दै जिल्लाका सुरक्षा निकायसहितको टोली । तस्बिर : अस्मिता पोखरेल

धादिङबेँसी समाचारदाता

धादिङबेँसी, असार १३ गते  । वर्षा सुरु भएसँगै पृथ्वी राजमार्ग अन्तर्गत पहिरो र सडक भासिने सम्भावना भएका जोखिमयुक्त स्थानको स्थलगत अनुगमन सुरु गरिएको छ । 

केही वर्षयता लगातारको बर्सातले पहिरो खसेर वा सडक भासिएर गम्भीर दुर्घटना र जनधनको क्षति भएको थियो । यस वर्ष सावधानीपूर्वक जोखिम  न्यूनीकरणका लागि अनुगमन अघि बढाइएको हो ।

धादिङ जिल्ला समन्वय समितिको संयोजनमा भएको अनुगमनमा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, सुरक्षा निकायका प्रतिनिधि र नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजनाका अधिकारीको सहभागिता रहेको थियो ।

टोलीले सडक विस्तार भइरहेको स्थान, त्यहाँ देखा परेका चुनौती र सुरक्षाका उपायबारे अवलोकन गर्दै आवश्यक निर्णय पनि लिएको छ । सम्भावित पहिरो क्षेत्र तथा जमिन भासिने सम्भावना भएका ठाउँमा मनसुन अवधिभर कुनै पनि प्रकारको सडक विस्तार कार्य नगर्ने सहमति भएको जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “जहाँ काम भइरहेको छ, त्यहाँ उच्च सतर्कताका साथ सवारी सञ्चालन गर्नु पर्छ । विपत् आइपरेको अवस्थामा तत्काल राहत र सहयोग प्रदान गर्न आवश्यक तयारी पूरा गरिएको छ ।’’ पृथ्वी राजमार्गको भौगोलिक स्वरूप अनुसार विभिन्न स्थानमा खोल्सा, भिरालो जमिन र पहाडी भूभाग रहेका कारण बर्खाको समयमा जोखिम बढ्ने गर्छ । प्रमुख जिल्ला अधिकारी घिमिरेले जोखिमयुक्त क्षेत्रमा सवारी रोक्न र जोखिम पहिचान भएपछि मात्र सवारी सञ्चालन गर्न सरोकारवालालाई निर्देशन दिनुभएको छ । 

निर्माणाधीन सडकमा रहेका खाल्डाखुल्डी तत्काल पुर्न, नालाहरू बनिरहेको स्थानमा पानी निकासको व्यवस्था मिलाउन सडक विस्तार आयोजनालाई भनिएको छ । सडक सङ्केत चिह्न थप गर्न भनिएको र समन्वयमा काम गरिरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । हाल नागढुङ्गा–नौबिसे खण्ड तथा नौबिसे–मुग्लिङ खण्डमा सडक र पुल विस्तारका काम तीव्र रूपमा अघि बढिरहेको छ । कमजोर भौगोलिक संरचनाका कारण बर्सातका बेला पकट पटक झरिरहने पहिरो र चट्टान हटाउँदै सवारी सञ्चालन गराउन चुनौतीपूर्ण रहेको जानकारी दिनुभयो । अत्यधिक चापयुक्त राजमार्गमा काम गर्दै सवारी सञ्चालन सुनिश्चित गर्नु कठिन कार्य भएको र यही कारण कामको प्रगति अपेक्षा अनुसार हुन नसकेको उहाँहरूको भनाइ छ ।