धनगढी समाचारदाता
धनगढी, असार १३ गते । कैलालीको टीकापुरमा गत चैतमा एक विद्यालयको कक्षा ९ मा अध्ययनरत किशोरले २ कक्षामा पढ्ने सात वर्षीय बालिकालाई विद्यालयमै बलात्कार गरेको आरोप लाग्यो । विद्यालय छुट्टी भएर अरू विद्यार्थी कोठाबाट निस्किसकेका बेला ती किशोरले बालिकामाथि कक्षाकोठामै जबरजस्ती गरेका पीडित पक्षको आरोप थियो ।
महिला तथा किशोरी अधिकारको क्षेत्रमा पैरवी गर्ने संस्था महिला पुनस्र्थापना केन्द्र (ओरेक) का अनुसार कक्षाकोठामै बलात्कृत बालिका रक्ताम्मे अवस्थामा घर पुगेकी थिइन् । छोरीको अवस्था देखेर आत्तिनुभएका आमाले बालिकासँग सोधीखोजी गर्दा आफ्नै विद्यालयमा पढ्ने किशोरले यस्तो बनाएको बताएकी थिइन् ।
पीडितकी आमाले विद्यालयमा गई शिक्षक, व्यवस्थापन समितिसँग घटना विवरण सुनाउँदै न्यायको याचना गर्नुभएको थियो । पीडित र आरोपित एउटै गाउँको भएको र दुवैको भविष्य बिग्रिने भन्दै घटना गाउँमै मिलाउने प्रयास भएको थियो । प्रहरीले भने पीडक किशोरलाई पक्राउ गरिसकेको ओरेकका गीता चौधरीले बताउनुभयो ।
त्यस्तै गौरीगङ्गा नगरपालिकामा एक विद्यालयका दुई छात्रामाथि बलात्कार प्रयास भएको घटना पनि बाहिरियो । आरोपित थिए, सोही विद्यालयमै कार्यरत एक शिक्षक । यो घटना पनि विद्यालय र अभिभावकबिचको छलफलमै मिलापत्र गरिएपछि न्यायिक प्रक्रिया अगाडि बढ्न नसकेको ओरेकले जनाएको छ । यी त दुई प्रतिनिधि घटना मात्रै हुन् । कैलालीमा बालिकामाथि हुने यौनहिंसा वृद्धि भइरहेको ओरेकले ठहर गरेको छ । संस्थाले त्रैमासिक तथ्याङ्क सार्वजनिक गर्दै सार्वजनिक स्थलमै बालिका असुरक्षित हुन थालेको र त्यस्ता जघन्य अपराधलाई गुपचुपमा राखिने गरेको बताएको छ ।
सन् २०२५ को प्रथम त्रैमासिकमा कैलालीमा लैङ्गिक विभेदमा आधारित हिंसाका कुल ३४ वटा घटना भएका छन् । तिनमा यौनहिंसाका १३ वटा छन् । बलात्कारका घटना २३ प्रतिशत, सामूहिक बलात्कारका घटना १५ प्रतिशत, बलात्कार प्रयासका घटना आठ प्रतिशत र वैवाहिक बलात्कारका घटना ५४ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।
बलात्कार वा यौन दुव्र्यवहारका घटनालाई गाउँमै मिलापत्र गर्ने, जिल्ला आइपुगेको घटनालाई विभिन्न तवरले दबाइने प्रवृत्ति रहेको ओरेकका सुदूरपश्चिम प्रदेश संयोजक सपना थापाले बताउनुभयो । ओरेकले विद्यालयमा समेत बालिका सुरक्षित हुन नसकेको उल्लेख गर्दै जघन्य अपराध हुँदा पनि न्यायिक प्रक्रिया अगाडि बढ्न नसक्नुमा चिन्ता व्यक्त गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले यौनहिंसाका घटनामा कमी नआएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म जबरजस्ती करणीका ८४ वटा मुद्दा दर्ता भएको छ । घटनामा संलग्न ७१ जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।