• १३ असार २०८२, शुक्रबार

दुई सयभन्दा बढी बस्ती उच्च जोखिममा

blog

विसं २०७८ असार १ गते हेलम्बुको भेमाथाङ पहाडबाट पहिरो बगेर आएपछि मेलम्चीले वितण्डा मच्चाएको दृश्य ।

चित्रकुमार मिजार

सिन्धुपाल्चोक, असार १३ गते  ।  यस वर्षको मनसुनजन्य विपत्बाट सिन्धुपाल्चोकका २२२ वटा बस्ती उच्च जोखिममा पर्न सक्ने आकलन गरिएको छ । जिल्ला विपत् व्यवस्थापन समिति सिन्धुपाल्चोकका अनुसार उक्त बस्तीका १७ हजार ८२ जना नागरिक बाढीपहिरोबाट प्रभावित हुने अनुमान गरिएको हो । 

चौतारा साँगाचोकगढी नगरपालिकामा २१ बस्ती उच्च जोखिममा छन् । त्यस बस्तीका ७७० जना नागरिक प्रभावित हुने भएका छन् । बाह्रबिसे नगरपालिकाका ६३ बस्तीका ८०५ नागरिक जोखिममा रहेका छन् । त्यस्तै मेलम्ची नगरपालिकाका सात वटा बस्ती उच्च जोखिममा देखिँदा बस्तीका पाँच सय नागरिक जोखिममा रहेका छन् ।

उत्तरी भेग भोटेकोशी गाउँपालिकाका ५३ बस्ती उच्च जोखिममा देखिएका छन् । त्यस पालिकाका ८०५ नागरिक प्रभावित हुने बताइएको छ । त्रिपुरासुन्दरीका सात सय बस्तीका १७१ जना नागरिक जोखिममा रहेका छन् । यसै गरी सुनकोशी गाउँपालिकाका ११ बस्ती उच्च जोखिममा छन् । त्यस बस्तीका ३०६ जना नागरिक अप्ठ्यारोमा रहेका छन् । त्यस्तै लिसङ्खुपाखरका १० बस्ती जोखिममा हुँदा तीन सय नागरिक त्रसित हुने गरेका छन् । यसै गरी बलेफी, जुगल, इन्द्रावती, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकाका अधिकांश बस्ती पनि जोखिममा रहेको बताइएको छ । 

जिल्ला विपत् व्यवस्थापन समितिले यस वर्षको बाढीपहिरोले सिन्धुपाल्चोकका ठुलासाना गरी ४४ वटा नदीखोला थुनिएर तटीय क्षेत्र आसपास बसोबास गर्ने नागरिक प्रभावित हुने अनुमान गरेको छ । मेलम्ची नपा, चौतारा साँगाचोकगढी नपा, बाह्रबिसे नपाका मेलम्ची, इन्द्रावती नदी, ब्रह्मायणी नदी, सुनकोशी, भोटेकोशी नदीलगायतका १७ वटा नदीनाला र भोटेकोशी गापा, सुनकोशी गापा, जुगल गापा, बलेफी गापालगायत नौ गापाका २८ वटा नदीनाला थुनिन सक्ने सो समितिको अनुमान छ । 

उक्त नदीनाला, खोला थुनिनसक्ने भन्दै जिल्ला विपत् व्यवस्थापन समितिले जोखिम न्यूनीकरण गर्न एक्साभेटर, डोजर, टिप्परलगायतका उद्धार सामग्री तयारी हालतमा राखेको छ । उक्त समितिले मनसुनजन्य विपत् न्यूनीकरणका लागि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्लास्थित सशस्त्र प्रहरी, नेपाली सेना, सङ्घ संस्थालगायतका सरोकारवालासँग उद्धार, राहत, सुरक्षित स्थानमा बसोबास गराउने प्रबन्ध तयारी हालतमा राखेको छ । 

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले मनसुनजन्य विपत्लाई ध्यानमा राख्दै उच्च जोखिमयुक्त बस्तीको भौगर्भिक अध्ययन, पहिरो तथा बाढीबाट विस्थापितको पुनस्र्थापना र आगामी दिनमा जोखिम न्यूनीकरणका लागि आवश्यक काम गरिरहेको जानकारी दिनुभएको छ । विपत् प्रतिकार्यको तयारी, सम्भावित विपत्बाट मानवीय क्षति हुन नदिने उपायका लागि ‘क्विक रेस्पोन्स टिम’ तयारी हालतमा राखिएको प्रजिअ थापाले बताउनुभयो । यस्तै मनसुनजन्य विपत् जोखिम न्यूनीकरण, उद्धार तथा राहतका लागि तीन करोड तीन लाख दुई हजार ६१५ रुपियाँ विपत् कोषमा तयारी हालतमा रहेको प्रजिअ थापाले बताउनुभयो । मनसुनजन्य विपत् प्रतिकार्य योजना कार्यान्वयनका लागि २० वटा जेसिभी डोजर, १७ वटा एक्साभेटर, पाँच सय वटा यातयातका साधन, एउटा वारुणयन्त्रका साथै भाँडावर्तन, खाद्यसामग्रीलगायतका सामान तयारी हालतमा राखिएको उहाँले बताउनुभयो । 

आपत्कालीन उद्धारका लागि तीन सय जना स्वयंसेवक उद्धारकर्ता, ८१३ जना नेपाली सेना, ४५० जना नेपाल प्रहरी र ३०८ जना सशस्त्र प्रहरीलाई तयारी हालतमा राखिएको छ । विपत्का बेला दुई हजार उद्धारकर्ता स्वयंसेवक, सुरक्षा निकाय तुरुन्तै खटिन सक्ने तयारी हालतमा राखिएको छ । मनसुनजन्य विपत् प्रतिकार्यका लागि ‘जिल्ला मनसुनजन्य प्रतिकार्य ‘कमान्ड पोस्ट’ निर्माण गरिएको छ । विपत्का बेला उक्त कमान्ड पोस्टले समग्र प्रतिकार्यको काम गर्छ । नेपाल रेडव्रmस सोसाइटी, विपत्जन्य घटनाका विज्ञ, प्रहरी, सेना, सशस्त्रलगायतको टोली उक्त कमान्डमा तयारी हालतमा रहेको प्रजिअ थापाले जानकारी दिनुभयो ।

विपत्को अवस्थामा यथाशीघ्र प्रयोग गर्न मिल्ने गरी जिल्लाका २६ स्थानमा हेलिप्याड निर्माण गरिएको छ । अन्य ९९ खुला स्थानलाई प्रयोग गर्न मिल्ने गरी राखिएको छ । त्यसमा एक लाख ५० हजार मानिसलाई आपत्कालीन अवस्थामा स्थानान्तरण गराउन सकिने छ ।