• १३ साउन २०८१, आइतबार

तलब नपाएपछि चिकित्सक आन्दोलनमा

blog

सिराज खान 

नेपालगञ्ज, जेठ १४  गते । बाँके नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सक तथा कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन् । चार महिनादेखिको तलब भत्ता नपाएको गुनासो गर्दै उहाँहरू पुनः आन्दोलनमा उत्रिनुभएको हो । 

पहिलो दिन बिहीबार उहाँहरूले अस्पताल प्रशासनअगाडि एक घण्टा धर्ना दिनुभएको थियो । बिहान ९ बजेदेखि १० बजेसम्म हातमा कालोपट्टी बाँधेर उहाँहरूले धर्ना दिनुभएको हो । नेपालगञ्ज मेडिकल कलेज प्राध्यापक परिषद्को अगुवाइमा आन्दोलन थालिएको परिषद्का अध्यक्ष डा. विनोद महासेठले बताउनुभयो । 

शिक्षण अस्पतालका चिकित्सक तथा कर्मचारीले मासिक रूपमा पाउनुपर्ने तलब सेवा माघ महिनादेखि नपाएको र प्रोत्साहन भत्तासमेत रोकिएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको अध्यक्ष महासेठले बताउनुभयो । 

“अस्पताल जस्तो संवेदनशील क्षेत्रमा आन्दोलन गर्नु रहर हुँदै होइन परिषद्का अध्यक्ष महासेठले भन्नुभयो, “अस्पताल प्रशासनले तलब भत्ता नै नदिएपछि के गर्नु ?” नेपालगञ्ज मेडिकल कलेजमा ११४ जना चिकित्सक कार्यरत हुनुहुन्छ । अधिकांशले तलब भत्ता नपाएको परिषद्का सचिव डा. अरुण महतको भनाइ छ । यस्तै अन्य कर्मचारीले पनि तलब भत्ता नियमित रूपमा पाउन नसकेको कर्मचारीले बताएका छन् । 

सामाजिक सेवा एकाइ प्रमुख रामबहादुर मल्लले परिषद्को आन्दोलनमा आफूहरूको पूर्ण साथ रहेको बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका अध्यक्षसमेत रहनुभएका प्रमुख मल्लले अस्पताल प्रशासनले आन्दोलनलाई गम्भीरतापूर्वक लिएर तत्काल निकास निकाल्नुपर्ने बताउनुभयो ।

चिकित्सक तथा कर्मचारीलाई तलब भत्ता नदिए कडा आन्दोलन गर्ने उहाँको चेतावनी छ । आन्दोलनका कार्यक्रमअन्तर्गत बिहीबार र शुक्रबार हातमा कालोपट्टी बाँधेर एक घण्टा धर्ना दिने र माग सम्बोधन नभए १६ गतेदेखि आंशिक रूपमा ‘ओपिडी’ सेवा बन्द गर्ने परिषद्को चेतावनी छ ।अस्पताल प्रशासनले भने कोभिड महामारीको असरले नियमित रूपमा तलब भत्ता दिन गाह्रो भइरहेको दाबी गरेको छ ।

अस्पतालका प्रशासन प्रमुख कुमार अधिकारीले कोभिड महामारीका कारण समयमा तलब भत्ता दिन नसकिएको स्वीकार्नुभयो । उहाँले आन्दोलनकारीसँग संवाद गर्ने प्रयास भइरहेकाले बिरामीको उपचारमा असर नपर्नेतर्फ गम्भीर हुन आग्रह गर्नुभयो । 

Author

तलबको माग गर्दै धर्ना बसेका चिकित्सक । तस्बिर : सिराज खान