प्रनिश गिरी
कुश्मा-पर्वत, माघ २३ गते । पर्वत जिल्लाका विभिन्न पालिकाहरूमा दुई वर्षभित्र निर्माण सम्पन्न भई स्वास्थ्य सेवा प्रदान गर्ने भनिएका आधारभूत अस्पतालहरूको भौतिक संरचना निर्माणको काम नै पूरा हुन सकेको छैन । जिल्लाको सात पालिकामध्ये केही स्थानीय पालिकामा अस्पताल भवनको भौतिक संरचना निर्माणाधिन अवस्थामा छन् भने केहीमा निर्माण सम्झौता नै हुन सकेको छैन ।
कोभिड १९ को महामारीपछि स्वास्थ्य सेवालाई गाउँसम्म पुराउने भनी तत्कालीन केपी ओलीको सरकारले ३९६ वटै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको घोषणा गरी एकैपटक शिलान्यास गरेको थियो । सरकारले आर्थिक वर्ष ०७६⁄०७७ घोषणा गरेअनुुसार अस्पताल निर्माणको कार्यक्रम पर्वतका सातवटै पालिकाहरूमा समेत छ । सरकारले दुई वर्ष भित्र आधारभूत अस्पताल सञ्चालन गरी स्वास्थ्य सेवा प्रदान गर्ने भनिए पनि पर्वतमा भने चार वर्ष बितिसक्दा समेत एउटै अस्पताल सञ्चालन हुन सकेको छैन ।
जिल्लाको मोदी गाउँपालिका वडा ५ स्थित बाजुङ पोखरेमा १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने भनी शिलान्यास गरेको ४ वर्ष बितिसक्दा समेत जग्गा प्राप्तिको प्रक्रिया पूरा हुन नसक्दा डिपिआर हुन नसकेको वडाध्यक्ष मनबहादुर अधिकारीको दुखेसो छ । सरकारले घोषणा गरे अनुसार आधारभूत अस्पताल बन्न ढिलाई हुने भएपछि जनताको स्वास्थ्य सेवाको माग अनुसार गाउँपालिका आफैले भवन भाडा लिई आधारभूत अस्पताल सञ्चालन गर्न थालेको छ । मोदी गाउँपालिकाका सूचना अधिकारी प्रविन पोख्रेलका अनुसार कार्यापालिकाको बैठकबाट निर्णय गरी आधारभूत अस्पताल सञ्चालनका लागि यस आर्थिक वर्ष ८० लाख रुपियाँ विनियोजन गरिएको छ ।
कुश्मा नगरपालिका वडा १२ को ठुलीपोखरीमा करिब ५ करोडको लागतमा १० शय्याको आधारभूत अस्पताल भवन हालसालै निर्माण सम्पन्न भनिए पनि साधन र स्रोतको अभावमा स्वास्थ्यसेवाको प्रवाह हुन नसकेको वडाध्यक्ष झलकप्रसाद रिमालको गुनासो छ ।
जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यका अनुसार वडा ३ मल्लाजमा करिब १० करोडको लागतमा निर्माणाधिन १० शय्याको आधारभूत अस्पतालको पक्की भवन अव निर्माणको अन्तिम चरणमा रहेको छ ।
फलेवास नगरपालिका वडा ६ देविस्थानमा १० शय्याको आधारभूत अस्पताल निर्माणका लागि भनी ५ रोपनी भन्दा बढी जग्गाको व्यवस्था गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट १ करोड ७० लाख रुपैया प्राप्त भएपछि डिपिआर तयार भई निर्माण सम्झौता समेत भएको थियो । पालिकाका प्रशासकीय अधिकृत कृष्ण प्रसाद आचार्यका अनुसार निर्माण सम्झौता गरी काम गर्न लाग्दा प्राविधिकले भवन निर्माणका लागि जग्गा उपयुक्त छैन भनेपछि भवन निर्माणको काम अगाडि बढाउन सकिएको छैन ।
महाशीला गाउँपालिका वडा ५ को लुङ्खुदेउरालीमा १५शय्या बराबरको आधारभूत अस्पताल भवन निर्माण गर्न भनी ठेकेदारसँग १३ करोड ४१ लाखमा बोलपत्र भई २०७८ मा सम्झौता भएको थियो । गाउँपालिकाका सूचना अधिकारी नरबहादुर बरालका अनुसार भवन निर्माणको डिपिआर तयार भई निर्माण प्रक्रिया अगाडि बढाउदै गर्दा जमिन भासिन गएपछि पुनः म्याद थप गर्नु परेकोले भवन निर्माणको काम ढिला भएको छ ।
जिल्लाको दक्षिणी भेगमा अवस्थित पैयु गाउँपालिकाको वडा ४ हुवासमा १० करोडको लागतमा निर्माणाधिन १० शय्याको आधारभूत अस्पतालको भवन पटक पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । प्रशासकीय अधिकृत जीवन गैरैका अनुसार २०७८ बाट सम्झौता भई निर्माण थालिएको भवनको करिब ५० प्रतिशत काम मात्रै पूरा भएको छ ।
विहादी गाउँपालकामा आधारभूत अस्पताल निर्माण र सञ्चालनबारे कुनै काम हुन सकेको छैन । चार वर्षदेखि भौतिक संरचना निर्माणाधिन चरणमै रहेका आधारभूत अस्पताल कहिले निर्माण सम्पन्न भई स्वास्थ्य सेवा प्रदान गर्ने हुन् भन्ने कुराको अनुमान लगाउन कठिन भएको स्थानीयवासीको गुनासो छ ।