• २३ माघ २०८१, बुधबार

मौरिसको आइस एक्स पोखरा ल्याइने

blog

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको २२ औं स्थापना दिवसमा बुधबार बोल्नुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, माघ २३ गते। अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयबाट उत्तरतिर छर्लङ्ग देखिन्छ अन्नपूर्ण हिमशृङ्खला। कास्कीको पोखरा महानगरको वडा नम्बर १७, रातोपहिरोमा रहेको यो सङ्ग्रहालयमा अन्नपूर्ण आरोहणको ऐतिहासिक सामग्री थपिने भएको छ। 

अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोगको स्विटजरल्यान्डमा रहेको आइस एक्स यहाँ ल्याइने पक्का भएको हो। सङ्ग्रहालयको सञ्चालक नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले यसको पुष्टि गर्नुभयो। “यसपालिको अन्नपूर्ण दिवस अर्थात् ३ जुनमा स्विस म्युजिमबाट हामीलाई मौरिसको आइस एक्स हस्तान्तरण हुँदै छ,” उहाँले भन्नुभयो। 

आठ हजार मिटरभन्दा अग्लो पहिलो आरोहण भएको हिमाल अन्नपूर्ण मौरिसले लुइस लाचेनलसँग मिलेर सन् १९५० मा आरोहण गर्नुभएको थियो। पर्वतीय सङ्ग्रहालयमा मौरिसको स्मृतिमा क्लाइम्बिङ वालसमेत बनाउने योजना छ। 

केही साताअघि पोखरा आउनुभएका मौरिसका छोरा माथियस हर्जोगले पनि आइस एक्स पर्वतीय सङ्ग्रहालयलाई हस्तान्तरण गरिने बताउनुभएको थियो। अन्नपूर्ण पदमार्गमा पदयात्रासमेत गर्नुभएका मेथ्युले भन्नुभएको थियो, “बुवाको ऐतिहासिक आइस एक्स आँखैले अन्नपूर्ण देखिने सङ्ग्रहालयमा हुनु सबैभन्दा उचित हुन्छ।” अन्नपूर्ण आरोहणका अनुभव समेटेर मौरिसले लेख्नुभएको पुस्तक ‘अन्नपूर्ण’को नेपाली अनुवाद पनि यही जुनमा सार्वजनिक गर्ने योजना छ। 

सङ्ग्रहालयको २२ औं स्थापना दिवसको अवसरमा बुधबार भएको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले इच्छाशक्ति र योजना भए प्रगति असम्भव नहुने बताउनुभएको। कार्यक्रममा उहाँले भन्नुभयो, “२२ वर्षमा सङ्ग्रहालयले गरेको प्रगति सुनियो। दुई सय २२ वर्षको योजना अहिलेको माग हो। इच्छाशक्ति भए यसलाई नमुना बनाउन सकिन्छ।”

कार्यक्रममा साहित्यकार सरुभक्तले हिमालको अस्तित्वलाई जीवनसँग तुलना गर्नुभयो। “२२ वर्षअघि सङ्ग्रहालय उद्घाटन समारोहमा म आउँदा हिमालभरि हिउँ थियो, अहिले कालापत्थर जस्तो छ,” उहाँले भन्नुभयो, “यसमा जिम्मेवार बनेको कोही देखिनँ। हिमाल नहुनु भनेको जीवन नहुनु हो। सृष्टि नहुनु हो।”

कार्यक्रममा सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले बुधबारबाटै पाटन सङ्ग्रहालय र राष्ट्रिय अभिलेखालयसँगको सहकार्यमा ‘कुमारीचोक’का फोटो प्रदर्शनीसमेत सुरु भएको छ। 

कार्यक्रममा सङ्घीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, पोखरा महानगरका प्रवक्ता मोतीलाल तिम्सिना, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी लगायतले बोल्नुभएको थियो। 

२२ वर्षमा २९ लाख १९ हजार पाँच सय ४३ जनाले टिकट काटेर सङ्ग्रहालय अवलोकन गरेका छन्। स्वदेशी तथा विदेशी उच्च पदस्थ करिब दुई लाखले निशुल्क सङ्ग्रहालय हेरेको रेकर्ड छ। यो बिचमा पाँच लाख त्रिहत्तर हजार विदेशी यहाँ आएका छन्।