• २३ माघ २०८१, बुधबार

बाबा कालीदासलाई महामण्डलेश्वरको उपाधि

blog

धार्मिक अभियन्ता बाबा कालीदास स्वामी कृष्णानन्द परमहंस । फाइल तस्बिर

काठमाडौँ, माघ २३ गते। धार्मिक अभियन्ता बाबा कालीदास स्वामी कृष्णानन्द परमहंसलाई महामण्डेश्वरको उपाधि प्रदान गरिएको छ। भारतको प्रयागराजमा निरञ्जनी अखाडाबाट बाबा कालीदासलाई महामण्डलेश्वरको उपाधि प्राप्त भएको हो। 

पण्डित बाबुराम शर्माका अनुसार महाकुम्भ मेलामा सहभागी हुन प्रयागराज पुग्नुभएका बाबा कालीदासलाई भारतका १३ वटै अखाडाका अध्यक्ष पनि सहभागी कार्यक्रममा निरञ्जनी अखाडाका तर्फबाट उक्त उपाधि प्रदान गरिएको हो। 

नेपालमा जन्मिनु भएका कालीबाबा भारतलाई कर्मथलो बनाएर ध्यान, साधना र धार्मिक अभियानमा हुनुहुन्छ। उहाँले ४५ वर्षदेखि नरिवल पानी खानी मात्रै खाने गर्नुभएको छ। उहाँ नरिवल पानी नपाए फलफूलको रस खानुहुन्छ। उहाँले भन्नुभयो, “निरन्तर शिव साधनामा तल्लीन हुँदा साधनाका क्रममा अन्न छोड्ने भाव आयो। त्यसैले नरिवल पानी मात्रै ग्रहण गर्न सुरु गरेको हुँ।”

उहाँले महामण्डलेश्वरको उपाधि प्राप्त हुँदा गौरव लागेको बताउँदै नेपाल र भारतबिच जनस्तरमा रहेको सम्बन्धलाई अब नेपालको समुन्नति, आर्थिक विकास, धार्मिक जागरण र सद्भाव वृद्धि गर्नेगरी अघि बढाउन प्रयत्नशील रहने बताउनुभयो।

कार्यक्रममा पिठाधीश्वेर महामण्डलेश्वर आचार्य कैलाशानन्द गिरीले नेपालमा धार्मिक जागरण ल्याउन, पर्यटन प्रवर्द्धन गर्न र आर्थिक विकास गर्न भारतको धार्मिक एवं आध्यात्मिक क्षेत्र सधैँ तयार रहेको बताउनुभयो। 

साथै उहाँले महामण्डलेश्वरको उपाधि मानवता र मौलिक सिद्धान्तप्रति अडिग रहनेलाई प्रदान गरिने बताउँदै बाबा कालीदासले नेपाल, भारतसहित विश्वका विभिन्न देशमा धार्मिक र आध्यात्मिक जागरण फैलाउन अनवरत काम गरेकाले उक्त सम्मान प्रदान गरिएको बताउनुभयो। 

कार्यक्रममा अखिल भारतीय अखाडा परिषद्का राष्ट्रिय अध्यक्ष महन्थ रवीन्द्र पुरीले नेपाल र भारतबिच प्राचीन समयदेखि रहँदै आएको सामाजिक, सांस्कृतिक एवं आर्थिक सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्ने बताउनुभयो। निरञ्जनी अखाडाको स्थापना वि.सं. ९६० मा भएको हो। अहिले उक्त अखाडाको मुख्यालय तीर्थराज प्रयागमा रहेको छ।