• २३ माघ २०८१, बुधबार

बागमती पुलको डाइभर्सन निर्माण

blog

बागमती नदीमा डाइभर्सन निर्माण हुँदै । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता 

सर्लाही, माघ २३ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटलाई जोड्ने बागमती खोलाको पुल मर्मतका लागि डाइभर्सन निर्माण सुरु भएको छ । मर्मतको काम गर्दा पुल पूर्ण रूपमा बन्द गर्नुपर्ने स्थिति आएपछि पुलदेखि दक्षिणतर्फ डाइभर्सन निर्माण भइरहेको हो । खोलामा बालुवा, गिट्टी बिछ्याउने र पानी भएको ठाउँमा ह्युम पाइप राख्ने काम भइरहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सिडिई अरुणकुमारलाल कर्णले जानकारी दिनुभयो । 

केही साताअघि पुलको ‘ब्यारिङ प्याडेस्टल’ मा क्षति पुगेर पुल नै धस्सिएपछि जोखिमपूर्ण अवस्था बनेको छ । ५५ वर्ष पुरानो यो पुल तत्काल मर्मत नगरिए दुर्घटनाको जोखिम बढेपछि तत्काल मर्मतको काम गर्न लागिएको हो । बिहीबारसम्ममा डाइभर्सन निर्माणको काम सम्पन्न गरी पुलबाट सवारी आवागमन बन्द गरिने सडक डिभिजन प्रमुख कर्णले बताउनुभयो । उहाँका अनुसार पुलमा ‘ब्यारिङ प्याडेस्टल’ मर्मतको काम गरी दबिएको भागलाई उठाउन तीनदेखि चार दिन लाग्छ । 

पुलमा पहिलेकै भागमा उठाएर उच्च गुणस्तरमा कङ्क्रिट राखेर ढलान गरेको २४ घण्टापछि पुलबाट पहिलेकै झैँ सवारीसाधन सञ्चालन गर्न मिल्ने अवस्था सिर्जना हुने छ । जोखिमपूर्ण बनेको बागमती पुलको सडक विभाग अन्तर्गत पुल महाशाखाको टोलीसमेत आएर निरीक्षण गरी फर्किएको छ । 

अब महाशाखाको प्राविधिक टोलीसहित सडक डिभिजनको जनशक्तिसमेत खटिएर मर्मतको काम गरिने डिभिजन प्रमुख कर्णले बताउनुभयो । पुल मर्मत हुने समयमा अहिले निर्माण भइरहेको डाइभर्सनबाट प्रत्येक सवारीसाधन सञ्चालन हुने व्यवस्था मिलाइने छ । सर्लाही र रौतहट दुवैतर्फका सुरक्षा निकायबिच समन्वय गरी डाइभर्सनबाट सहज रूपमा सवारीसाधन सञ्चालन गराइने सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।