अविनाश चौधरी
धनगढी, असार ३ गते । कैलालीको पथरैया नदीमा दुर्लभ घडियाल गोहीले बच्चा कोरलेका छन् । घडियाल गोहीले ८६ वटा बच्चा निकालेका छन् । गोहीले चार वटा गुँडबाट बच्चा कोरलेको हुन सक्ने डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताउनुभयो । उहाँले भन्नुभयो, “चार वटा खाल्डोबाट बच्चा निस्केको देखिएका छन् । तर नदीमा बच्चासँग अहिलेसम्म दुई वटा माउ मात्रै देखापरेका छन् । दुई वटा लुकेका पनि हुन सक्छन् ।”
डल्फिन देखिने क्षेत्र टीकापुर नगरपालिका –७ स्थित पथरैया नदीमा गतवर्ष दुई वटा गुँडबाट घडियालले बच्चा निकालेका थिए । सो नदीमा घडियालले प्राकृतिक रुपमा बच्चा कोरलेको यो लगातार तेस्रो वर्ष हो ।
कैलालीको मोहना, कर्णाली नदीमा पनि घडियाल गोहीले बच्चा कोरल्ने गरेका छन् । यस वर्ष दुवै नदीमा रहेको गुँडबाट अहिलेसम्म बच्चा ननिस्केको जनाइएको छ ।