• १३ साउन २०८१, आइतबार

सात वर्षपछि हुने भयो सडक निर्माण सम्पन्न

blog

चरीकोट, वैशाख १४ गते । निर्माण सुरु भएको करिब सात वर्षपछि काठमाडौँ–दोलखा जोड्ने मुख्य मार्गका रूपमा रहेको लामसाँघु–जिरी सडकखण्डअन्तर्गतको ३० किलोमिटर मुढे–चरीकोट सडकको कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । 

निर्माणको काम बीचमै छोडेपछि पटक–पटकको नागरिक आन्दोलन र खबरदारी तथा राज्यले अन्तिम पटक दिएको ठेक्का तोड्नेदेखि कालोसूचीमा राख्ने चेतावनीसमेत पाएपछि पछिल्लो चार महिनामा सडक स्तरोन्नति र कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । 

दुई वर्षभित्र कालोपत्रे गरिसक्ने सर्तमा गत २०७२ सालमा ठेक्का सम्झौता भएको थियो । सम्झौताको म्याद सकिएर पटक–पटक चर्को हर्जना तिर्दै आएकोमा अहिले भने पछिल्लो पटक थपिएको म्याद सकिन एक महिना मात्र बाकी रहँदा सडक कालोपत्रेको काम २७ किलोमिटर पूरा भएको छ । आयोजनाका निमित्त योजना प्रमुख एवं इन्जिनियर ईश्वर कार्कीका अनुसार जेठ १० गतेसम्म २७ किलोमिटर कालोपत्रे सकिएको छ । 

अब तीन किलोमिटर मात्रै कालोपत्रे गर्न बाँकी छ । पछिल्ला केही दिनदेखि लगातार झरिपरेकाले बाँकी तीन किलोमिटर सडकको कालोपत्रे गर्न समस्या भएको छ । मौसमले साथ दिए अबको १५ दिनभित्र पूरै कालोपत्रे सक्ने लक्ष्य राखिएको छ । गत सात वर्षदेखि बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकको कष्ट खेप्दै आएका दोलखावासीलाई अब यात्रा गर्न केही सहज भएको छ । शङ्करमाली–सुनौला खिम्ती र भारतको सकिल हैदर जेभीले २०७२ मा सडक विस्तार र कालोपत्रेको ठेक्का पाएको थियो । 

गत २०७४ सालभित्र सम्पन्न हुनुपर्ने काम छ वर्ष ढिला भएपछि सडक डिभिजन कार्यालयले ठेकेदारलाई चार लाखका दरले हर्जनासमेत तिराएर काम गर्न दबाब दिँदासमेत कामले गति लिन सकेको थिएन । सरकारले गत माघ महिनामा कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेपछि जेभिकै अर्का ठेकेदारको समूहले गत फागुनदेखि काम सुरु गरेको थियोे । भारतीय एक्जिम बैङ्कको एक अर्ब २४ करोड ऋण सहयोगमा निर्माणको ठेक्का सम्झौता भएको थियो ।

सिन्धुपाल्चोकको खाडीचौरदेखि मुढे २५ किलोमिटर सडकको पहिलो चरणको काम अघिल्लो वर्ष नै पूरा भइसकेको छ । मुढे–चरीकोटसम्मको ३० किलोमिटर निर्माण ढिलाइ हुँदा दोलखावासीले महँगो शुल्क तिरेर बिरामीलाई हेलिकप्टरमार्फत काठमाडौँ लगेर उपचार गर्नुपर्ने बाध्यता बनेको थियो । कच्ची सडककै कारण सुस्ताउँदै गएको जिल्लाको निजी क्षेत्र जुर्मुराउन लागेको छ । जिल्लामा भित्रिने पर्यटक अहिले भने बढ्न थालेका छन् ।

Author

बाबुराम शर्मा