काठमाडौँ, माघ २२ गते। दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएका दुई प्रतिस्पर्धामा लोकआदर्श एकेडेमी र ग्रिन भिलेज सेकेन्डरी विजयी भएका छन्।
नेपाल एपिएफ स्कुल कीर्तिपुरमा मङ्गलबार भएको प्रतिस्पर्धाको पहिलो खेलमा लोक आदर्श एकेडेमीले न्यु होराइजन एकेडेमीलाई १०–१ गोल अन्तरले हराएको हो। लोक आदर्शका लागि शिव थापाले ६ गोल गर्नुभयो भने आरध्य चौधरीले दुई गोल गर्दा धनबहादुर साउद र रोशन खपाङ्गीले एक एक गोल गर्नुभयो।
आजै भएको अर्को खेलमा ग्रिन भिलेज सेकेन्डरी स्कुल विजयी भएको छ। लेबोरेटरी माध्यमिक विद्यालय, कीर्तिपुरले वाक ओभर दिँदा ग्रिन भिलेज विजयी भएका हो।
मङ्गलबारको खेलमा लोक आदर्श एकेडेमीका शिव थापा प्लेअर अफ द म्याच बन्नुभयो। उहाँलाई आयोजक विद्यालय नेपाल एपिएफ स्कुल, कीर्तिपुरका प्राधानाचार्य युवराज पराजुलीले ट्रफी प्रदान गर्नुभयो।
प्रतियोगितामा उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट एक र बाँकेको नेपाल एपिएफ कोहलपुरबाट एक गरेर १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्दैछन्।
माघ २० गते सुरु भएको प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजयी टिमले ६० हजार नगद प्राप्त गर्नेछ। दोस्रोले २० हजार रुपियाँ पाउने छ भने तेस्रो टिमले १० हजार नगद प्राप्त गर्नेछ।
प्रतियोगितामा बुधबारको पहिलो खेलमा पुष्प सदन कीर्तिपुर र राई स्कुल नक्सालले प्रतिस्पर्धा गर्नेछन्। दोस्रो खेलमा राराहिल मेमोरियल स्कुलविरुद्ध ग्रिन भिलेज एजुकेसन फाउन्डेसनले प्रतिस्पर्धा गर्नेछ।