• २२ माघ २०८१, मङ्गलबार

जापानी प्रधानमन्त्रीले बिहीबारदेखि अमेरिकाको भ्रमण गर्ने

blog

जापानका प्रधानमन्त्री शिगेरु इसिबा ।

टोकियो, माघ २२ गते । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले यस हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नुहुने शीर्ष सरकारी प्रवक्ता योशिमासा हयासीले मङ्गलबार बताउनुभएको छ । 

“यदि परिस्थितिले अनुमति दिए उहाँ फेब्रुअरी ६-८ (बिहीबारदेखि शनिबार) मा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नुहुनेछ र वासिङ्गटन डिसीमा राष्ट्रपति ट्रम्पसँग पहिलो पटक जापान-अमेरिका शिखर बैठक गर्नुहुनेछ”, हायाशीले भन्नुभयो, “यस भ्रमणमार्फत हामी नयाँ अमेरिकी प्रशासनसँग विश्वासको बलियो सम्बन्ध निर्माण गर्न र अमेरिका-जापान गठबन्धनलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छौँ ।”

निक्केई व्यापार दैनिकले इसिबाले ट्रम्पसँग अमेरिकी शेल ग्यासको आयात बढाउने विषयमा छलफल गर्न चाहेको जनाएको छ । यो राष्ट्रपतिको ‘ड्रिल, बेबी, ड्रिल’ को प्रतिज्ञासँग मेल खान्छ । इसिबाले नोभेम्बरमा तत्कालीन राष्ट्रपति–निर्वाचित ट्रम्पसँग छोटो टेलिफोन वार्ता गर्नुभएको थियो र जनवरीमा उहाँको शपथग्रहण अघि नै भेट्ने असफल प्रयास गर्नुभएको बताइएको थियो ।

यद्यपि ट्रम्पले डिसेम्बरमा जापानका हत्या गरिएका पूर्व प्रधानमन्त्री शिन्जो आबेकी विधवा आकिए आबेलाई फ्लोरिडास्थित आफ्नो निवासमा मेलानिया ट्रम्पसँग निजी डिनरको आयोजना गर्नुभएको थियो । गत हप्ता इसिबाले क्षेत्रीय स्थिरताका लागि संयुक्त राज्य अमेरिकासँग घनिष्ठ सम्बन्धको महत्वलाई जोड दिनुभएको थियो ।

“यस क्षेत्रमा शक्तिको सन्तुलनमा ऐतिहासिक परिवर्तन आएको छ, हामीले जापान-अमेरिका सहयोगलाई ठोस रूपमा अझ गहिरो बनाउनुपर्छ”, इसिबाले संसद्लाई भन्नुभयो, “शक्ति रिक्तताले क्षेत्रीय अस्थिरतातर्फ नडोर्याओस् भन्नका लागि यस क्षेत्रप्रति अमेरिकी प्रतिबद्धता सुनिश्चित गर्न जारी राख्नुपर्छ ।” उहाँको टिप्पणीले एसिया-प्यासिफिकमा चीनको सैन्य निर्माण र ट्रम्पको ‘अमेरिका फस्र्ट’ नीतिहरुमा तनावलाई जोड दिन्छ, जसमा जापान जस्ता सहयोगी राष्ट्रहरुलाई रक्षा खर्चको ठूलो हिस्सा बेहोर्न लगाउने माग पर्न सक्छ ।

जापान र संयुक्त राज्य अमेरिका प्रमुख रक्षा सहयोगी र एक अर्काका शीर्ष विदेशी लगानीकर्ता हुन् ।  डिसेम्बरमा पनि इसिबा अघि जापानी प्रविधि लगानीकर्ता सफ्टब्यांकका प्रमुख मासायोशी सन ट्रम्पका साथमा संयुक्त राज्य अमेरिकामा एक खर्ब डलरको लगानी घोषणा गर्न उभिनुभएको थियो । 

सनले ट्रम्पको शपथग्रहणमा पनि भाग लिनुभएको थियो । त्यसपछि सफ्टब्यांकले क्लाउड दिग्गज ओराकल र च्याटजिपिटी-निर्माता ओपनएआईसँग मिलेर संयुक्त राज्य अमेरिकामा एआई पूर्वाधार निर्माण गर्न पाँच खर्ब डलरको स्टारगेट परियोजनाको नेतृत्व गर्ने घोषणा गर्नुभयो । त्यसपछि सोमबार साँझ सन र ओपनएआई प्रमुख साम अल्टम्यानले इसिबालाई भेट्नुभयो र ‘स्टारगेटलाई जापानमा विस्तार गर्ने’ बारेमा छलफल गरेको सनले पछि पत्रकारहरुलाई बताउनुभयो । “हामी अत्याधुनिक एआई पूर्वाधार निर्माण गर्न चाहन्छौँ, मेरो मतलब विश्वकै सबैभन्दा ठूलो, अत्याधुनिक एआई डाटा केन्द्रहरु हो”, सोनले थप विवरण नदिई भन्नुभयो । रासस