• २२ माघ २०८१, मङ्गलबार

अर्गानिक उत्पादनमा जोड दिन मुख्यमन्त्रीको आग्रह

blog

छलफलमा सहभागी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य।

दिवाकर पोख्रेल

देउखुरी, माघ २२ गते। लुम्बिनी प्रदेशमा अर्गानिक खाद्यान्न, तरकारी तथा फलफूल उत्पादनका लागि प्रदेश सरकारले विशेष कार्यक्रम बनाएर सम्बोधन गर्ने मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभएको छ। 

अम्बिकेश्वरी व्यावसायिक तरकारी खेती कृषक समूहसँग देउखुरीमा छलफल गर्दै मुख्यमन्त्री आचार्यले खाद्यान्न तथा तरकारी उत्पादनमा रासायनिक मल र बिषादीको प्रयोगलाई घटाउँदै जैविक मल र जैविक बिषादीको प्रयोग बढाएर अर्गानिक उत्पादन बढाउनेगरी प्रदेश सरकारले सम्बोधन गर्ने बताउनु भएको हो। 


किसानले भारतबाट आउने तरकारीमा अत्याधिक बिषादी हुने गरेको गुनासो गर्ने गरेका छन्। सीमा नाकामा सङ्घीय सरकारले बिषादी परीक्षण गर्दै आएको र त्यो कामलाई प्रभावकारी बनाउन प्रदेश सरकारले समेत पहल गर्ने मुख्यमन्त्री आचार्यले बताउनुभयो।

‘बिषादी परीक्षणका लागि सिमानामा व्यवस्था छ। त्यसलाई प्रभावकारी बनाउन प्रदेश सरकारले विगतमा पनि पहल लिएको थियो। अहिले पनि हामीले यसमा ध्यान दिन्छौं’ उहाँले भन्नुभयो, ‘सिमानाबाट हुने तरकारी, दूध, खसीबोका, कुखुराको तस्करी रोक्नका लागि विशेष पहल भएको छ। अहिले यसमा कमी आएको छ।’ 

भैरहवा, कृष्णनगर, नेपालगन्जको नाकामा बिषादी परीक्षणको कामलाई प्रभावकारी बनाउन समेत किसानले माग राखेका थिए। 

घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिना अम्बापुरका किसानले व्यावसायिक रूपमा अर्गानिक तरकारी उत्पादन गर्दै आएको छ। 

प्रदेश सरकारले जैविक मल, जैविक बिषादी तथा सिँचाइका लागि सहयोग गर्नेगरी थप कार्यक्रम बनाउने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले बताउनुभयो। किसानसँग प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री राजु खनालले किसानलाई हौसला थप्न आवश्यक रहेको बताउनुभयो।