• २२ माघ २०८१, मङ्गलबार

अस्पतालको स्तरोन्नतिको कामले पायो गति

blog

प्रदेश अस्पताल दमौलीको भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, माघ २२ गते ।
प्रदेश अस्पताल दमौली अस्पतालको स्तरोन्नतिको कामले गति पाएको छ । लामो समयदेखि जग्गा अभावले गर्दा अस्पताललाई ५० शय्यामा विस्तार गर्ने प्रक्रिया अघि बढ्न नसकेकामा अब प्राप्तिको बाटो खुले पछि कामले गति लिएको हो ।

नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको विस्तारका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ र कृषि ज्ञान केन्द्रले प्रयोग गर्दै आइरहेको जग्गा प्राप्त गर्ने सहमतिसहितको प्रस्ताव गण्डकी प्रदेशमा पठाउनुभएको छ ।

यसअघि कृषि मन्त्रालयले सो जग्गा गर्नका लागि मन्त्रालयलाई सहमति दिइसकेको छ । अब गण्डकी प्रदेश मन्त्रिपरिषद बैठकले सहमति दिएपछि सङ्घ सरकारले जग्गा अस्पतालका लागि उपलब्ध गराउनेछ । अस्पतालका लागि आवश्यकमध्ये भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वमा रहेको रोपनी ५ आना तथा कृषि ज्ञान केन्द्रको स्वामित्वमा रहेको २ रोपनी जग्गा प्राप्तिका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहमति दिएको हो ।

पृथ्वी राजमार्गको मध्यभागमा रहेको यस अस्पताल विस्तारको विषय लामो समयदेखि उठे पनि जग्गा प्राप्तिसम्बन्धी निर्णय नहुँदा अघि बढ्न सकेको थिएन । हालै दमौली अस्पतालको निरीक्षणका क्रममा स्वास्थ्यमन्त्री पौडेलले अस्पतालका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाएरै छाड्ने दृढता गर्नुभएको थियो । सोही अनुरुप अस्पतालको प्रस्ताव कृषि मन्त्रालय, अर्थ मन्त्रालय हुँदै अघि बढाउन मन्त्री पौडेलले पहल गर्नुभएको थियो । अब गण्डकी प्रदेशबाट स्वीकृतिपछि सङ्घ सरकारले अस्पताललाई जग्गा हस्तान्तरण गर्नेछ । यसपछि प्रदेशको स्वामित्वमा रहेको  अस्पतालको विस्तारको काम अघि बढ्नेछ ।

१५ शय्याको अस्पताल स्तरोन्नति अतिआवश्यक भएकाले मन्त्री पौडेलको  ध्यानाकर्षण गराइएको जिल्ला समन्व्य समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शान्तिरमण वाग्लले जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०५९ मा अस्पतालको रूपमा स्तरोन्नति भएको अस्पतालले दमौली मात्र नभई छिमेकी जिल्लाका बासिन्दालाई सेवा दिइरहेको छ । तीव्र सहरीकरण र बढ्दो जनसङ्यासँगै अस्पतालले उक्त शय्यामा सेवा दिने अवस्था छैन । अस्पतालको स्तरोन्नतिका लागि पटक–पटक प्रयास भए पनि त्यसले मूर्तरुप लिन नसकेकोमा मन्त्री पौडेलले काम अघि बढाएपछि सहज भएको वाग्लेले बताउनुभयो ।

अस्पताल विस्तारका लागि सङ्घीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गर्ने निर्णय भएको थियो । तर कार्यान्वयन नहुँदा विस्तार कार्य रोकिएको थियो । विसं २०३४ मा स्वास्थ्य चौकीको रूपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको याे अस्पताल २०५९ सालमा अस्पतालको रूपमा स्तरोन्नति भएको थियो ।

स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसूतिरोगका विशेषज्ञलगायतको चिकित्सकको दरबन्दी थप हुने प्रदेश अस्पताल दमौलीका प्रमुख डा. परिवर्तन बरालले जानकारी दिनुभयो ।