• २५ माघ २०८१, शुक्रबार

इमेजका बचतकर्तालाई दिन थालियो रकम फिर्ता

blog

बागलुङ समाचारदाता

बागलुङ, माघ २२ गते । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले रकम फिर्ता पाउन थालेका छन् ।सहकारीले एक लाख रुपियाँसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालेको हो । ढोरपाटन र गलकोट शाखाका ५४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग गत पुस २६ गते मिलापत्र गरेपछि आइतबारदेखि एक लाख रुपियाँसम्मका बचतकर्ताले रकम फिर्ता पाउन थालेका हुन् । 

आइतबार बुर्तिबाङमा ९२ जना बचतकर्ताले ३७ लाख रुपियाँ प्राप्त गर्ने गरी चेक बुझेका छन् । गलकोट र ढोरपाटनका ५४७ बचतकर्तामध्ये एक लाख रुपियाँसम्मका बचतकर्ताले तत्काल फिर्ता पाउने गरी प्रक्रियासमेत अगाडि बढाइएको इमेज पीडित सङ्घर्ष समिति गलकोट बुर्तिवाङ संयोजक मञ्जु शर्मा चालिसेले जानकारी दिनुभयो । इलाका प्रशासन कार्यालय र जनप्रतिनिधिको रोहबरमा बचतकर्ताको रकम फिर्ता गरिएको हो । 

सहकारीका बाँकी बचतकर्ताको रकम फिर्ताका लागि मिना ग्रुप कम्पनी प्रालिसँग सहकार्य गर्ने गरी सम्झौतासमेत गरिएको संयोजक चालिसेको भनाइ छ । चालिसेका अनुसार सोमबार गलकोट नगरपालिकामा एक लाख रुपियाँसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने कार्यक्रम रहेको छ । एक लाख रुपियाँभन्दा बढी बचत रकम पनि छिट्टै फिर्ता गर्ने तयारी भइरहेको शर्माले बताउनुभयो । 

गत पुस २६ सम्म सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको सहकारी ठगी मुद्दामा पीडितमध्ये ५४७ जनाले बिगो दाबी नगर्ने गरी मेलमिलाप गर्नुभएको छ । उहाँहरूले नेपालीको घरायसी जायजेथाबाट पाउनुपर्ने रकम पाएको भन्दै मेलमिलाप गर्नुभएको हो । 

मेलमिलापका लागि जिल्ला अदालत बागलुङले आदेशसमेत दिएको थियो । बचतकर्ताको ठगिएको रकम २३ करोड ७५ लाख ४२ हजार ३४० रुपियाँ बराबरको रकम घरसारमा मिलेर पाएको भन्दै मेलमिलाप गरेपछि मुद्दामा दाबी गरिएको बिगो रकमसमेत घटेको छ । जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले आंशिक मेलमिलापको आदेश दिएको हो । 

पीडित ताराबहादुर कुँवर, मञ्जु शर्मा चालिसे र यमबहादुर कुँवरसमेत ५४७ जनाको मुलुकी फौजदारी संहिता, २०७४ को दफा ११७ बमोजिम मिलापत्र गर्न निवेदन आएकोले दफा ११८ (३) बमोजिम मिलापत्र गरिएको आदेशमा उल्लेख छ । सहकारीका अध्यक्ष नेपाली पुर्पक्षका लागि अहिले थुनामै हुनुहुन्छ ।