घोराही समाचारदाता
घोराही, माघ २२ गते । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले समय अनुकूल शिक्षा नीतिमा सुधार गर्न ध्यान दिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस दाङले घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री तिमिल्सिनाले देशको विकाससँगै रोजगारीको महत्वपूर्ण पक्ष भएकाले शिक्षालाई समय अनुकूल बनाउनुपर्नेमा जोड दिनुभयो ।
देश विकासका लागि शिक्षाको महत्वपूर्ण भूमिका हुने भन्दै उहाँले नागरिकलाई सचेतनासँगै समृद्धिका लागि समय अनुकूल शिक्षा नीति बन्न आवश्यक रहेको बताउनुभएको हो । बदलिँदो समय अनुकूल शिक्षा नीति बन्न नसक्दा लुम्बिनीमा शिक्षाको अवस्था कमजोर रहेको भन्दै उहाँले वर्तमान समय अनुकूल पढेपछि आफ्नै ठाउँमा केही गरिखाने शिक्षा नीति आवश्यक रहेको बताउनुभएको थियो ।
उहाँले गत वर्षको एसईई परीक्षामा ८० हजार ३२७ जनाले परीक्षा दिएकामा ३९ प्रतिशत अर्थात् ३१ हजार १०६ जना विद्यार्थी उत्तीर्णले प्रदेशको कमजोर अवस्था देखाएको बताउनुभयो । त्यसमा पनि सामुदायिक विद्यालयमा करिब २८ प्रतिशत मात्रै उत्तीर्ण भएको तथ्याङ्क रहेको भन्दै यसमा व्यापक सुधार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
एसइईमा पास हुन नसकेका बाँकी ४९ हजार विद्यार्थीबारे सबैको चासो हुनुपर्ने उहाँको भनाइ छ । मन्त्री तिमिल्सिनाले भन्नुभयो, “शिक्षा प्रणालीमा सुधार गर्दै हराएका विद्यार्थीलाई पढाइमा ल्याउन खोजी गर्नु पर्छ । हराएका विद्यार्थीले के गर्दै छन् भनेर अभिलेखसमेत राख्न सक्नु पर्छ ।”
करिब एक करोड २४ लाख जनसाङ्ख्यिक लाभमा पर्ने १६ देखि ४० वर्ष उमेर समूहका युवा नेपालमा रहेको बताउँदै यसको दीर्घकालीन उपयोगका विषयमा सरकारले ठोस योजना ल्याउन ढिलाइ गर्न नहुने बताउनुभयो । अध्ययन गरेर रोजगारीमा जोडिने बेला युवा जनशक्ति विदेश जाने अवस्था रहेको भन्दै मन्त्री तिमिल्सिनाले यसलाई परिवर्तन गर्दै पढिसकेपछि आफ्नै ठाउँमा काम गरिखाने शिक्षाको आवश्यकता रहेको बताउनुभयो ।
जनसाङ्ख्यिक लाभ अन्तर्गत पर्ने युवालाई रोजगारी, प्रविधि, पर्यटन, शिक्षासँग जोड्न सकिएन भने ३० वर्षपछि देशमा युवा जनशक्ति भेटाउनै समस्या हुने भन्दै उहाँले देशको समृद्धिका लागि युवालाई रोजगार, प्रविधि, पर्यटन, शिक्षासँग जोडेर अघि बढ्न आवश्यक रहेको बताउनुभएको थियो ।
“निश्चित समयमा गरिनुपर्ने काममा राज्यले ढिलाइ गर्यो भने यसको असर चौतर्फी रूपमा पर्छ । युवालाई देशमै उपयोग गर्न र लाभ उठाउन ढिलाइ गर्नु हुँदैन,” मन्त्री तिमिल्सिनाले भन्नुभयो, “युवालाई रोजगारी, प्रविधि, पर्यटन, शिक्षालगायत क्षेत्रमा जोड्न जरुरी छ । शिक्षामा गुणस्तर कायम गर्दै युवा जनशक्तिलाई भरपुर उपयोगमा प्रदेश सरकारले अहिले ध्यान दिएको छ । यसका लागि शिक्षामा सुधारको प्रयास भइरहेको छ ।”