• ४ वैशाख २०८२, बिहिबार

तीन हजारलाई एचपिभी खोप

blog

हुम्ला समाचारदाता

हुम्ला, माघ २२ गते । हिमाली जिल्ला हुम्लामा तीन हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ । १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई सो खोप लगाउन लागिएको हो ।

तीन हजार ४४३ किशोरीलाई लक्ष्य गरी खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा कार्यालयकी प्रमुख डा. प्रतीक्षा भारतीले बताउनुभयो । विद्यालय जाने किशोरी र विद्यालयबाहिर दुवै समूहका किशोरीमा यो खोप लगाइने छ । उहाँका अनुसार जिल्लाका सात वटा गाउँपालिकामा ९९ वटा खोप केन्द्रबाट उक्त खोप अभियान सञ्चालन हुने छ । 

देशभर माघ २२ देखि फागुन ६ सम्म यो खोप अभियान सञ्चालन हुने भए पनि हुम्लामा भने फागुन १८ देखि केही ढिला गरी खोप अभियान सञ्चालन हुने डा. भारतीले बताउनुभयो । यतिबेला जिल्लाका सबै विद्यालय हिउँदे बिदाले गर्दा बन्द छन् । फागुन २ बाट विद्यालय नियमित भए पनि १५ गतेपछि मात्र पठनपाठन गर्ने तयारीमा विद्यालय छन् । जिल्लामा चिसो मौसमका साथै दुर्गमका विद्यालयसमेत बन्द रहेका कारण केही समय ढिला गरी यो खोप अभियान सञ्चालन हुने उहाँले बताउनुभयो । 

जिल्लाका छ वटा गाउँपालिकामा फागुन १८ देखि २९ सम्म यो खोप अभियान सञ्चालन हुने छ भने उत्तरी नाम्खा गाउँपालिकाको हिमालपारिको गाउँ लिमी, यारीलगायतका गाउँ हिउँले बाटो बन्द हुने हुँदा फागुन २० देखि २०८२ साल वैशाख ७ सम्म उक्त खोप अभियान सञ्चालन हुने उहाँले बताउनुभयो । विद्यालय जाने कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमै खोप दिइने र विद्यालयबाहिरका किशोरीलाई पनि उक्त खोप लगाइने तयारी गरिएको छ ।