• ७ वैशाख २०८२, आइतबार

गाउँमा गाडी पुगेपछि स्थानीय खुसी

blog

हिमाली गाउँपालिका–५ को क्युडीमा पहिलो पटक पुगेको गाडी । तस्बिर सौजन्य : उमेश रोकाया

बाजुरा समाचारदाता

बाजुरा, माघ २२ गते । बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका–५ को क्युडीमा पहिलो पटक गाडी पुगेपछि स्थानीय निकै खुसी भएका छन् ।

गाउँपालिकाको लामो प्रयासपछि यहाँको क्युडी गाउँमा सडक सञ्जालको पहुँच भएसँगै त्यहाँका बासिन्दालाई यातायात सेवा लिन निकै सहज हुने भएको छ । लामो समयदेखि गाउँपालिकाको कार्यालयमा एक दिनको पैदल यात्रा गर्दै आएका यहाँका स्थानीय अबदेखि एक घण्टामा पुग्ने भएका छन् ।

गाउँपालिकामा पहिलादेखि गाडी चल्न थालेको भए पनि गाउँमा भने गाडी कहिले आउला भन्ने हुन्थ्यो । आज आफ्नै आँखाले गाउँमै गाडी पुगेको देखेपछि त्यो सपना पूरा भएको हिमाली गाउँपालिका–५ का ७५ वर्षीय लाममनी रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाडी नहुँदा यहाँ उत्पादन गरेका तरकारीलगायत कृषिजन्य वस्तु बजारसम्म लैजान निकै समस्या हुने गरेको थियो । अब गाउँमै गाडी पुगेपछि ती उत्पादन गाडीमा हालेर बजार लैजान सहज  हुने छ ।” 

भौगोलिक विकटताका कारण यहाँको वडा नं. १ र २ मा सडक पुगेको थिएन । गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले भन्नुभयो, “त्यहाँ सडक पुर्‍याउनका लागि हामीले प्रत्येक वर्ष रकम विनियोजन गर्दै आएका थियौँ । लामो प्रयासले क्युडीमा गाडी पुर्‍याउँन सफल भएका छौँ ।” 

उहाँले यहाँका ४, ५, ६ र ७ नं. वडामा गत वर्षदेखि नै सडक सञ्जालको पहुँचमा पुगेको पनि जानकारी दिनुभयो । यो गाउँमा सडक सञ्जालको पहुँच पुगेसँगै अब जिप, ट्याक्टरलगायतका सवारीसाधन चल्न थालेका छन् । केही समयपछि यहाँका सडक नपुगेका अन्य वडामा पनि सडक सञ्जालको पहुँचमा राख्ने गरेर सडक निर्माणको काम भइरहेको अध्यक्ष मल्लले बताउनुभयो ।