• २६ जेठ २०८२, सोमबार

सडक स्तरोन्नतिको माग गर्दै स्थानीय धर्नामा

blog

इमान सिं राना

रामपुर (पाल्पा), जेठ २६ गते । गाउँपालिका पहुँच मार्गको सडक स्तरोन्नतिको कामले गति नलिएको भन्दै पाल्पामा स्थानीय युवाले धर्ना दिएका छन् । रामपुर-बेलडाँडा-ढुङ्गानाबेशी-मित्याल-अरुणखोला खण्ड सडक सञ्चालनमा आएको वर्षाैँ हुँदा समेत स्तरोन्नतिको कार्यले गति नलिएको भन्दै युवाहरुले सोमबार निस्दी गाउँपालिका कार्यालयमा धर्ना दिएका हुन् ।

सडक खण्ड अन्तर्गत नवलपुरको अरुणखोलादेखि जलुकेघाट सम्मको सडक पिच भैसकेको पनि निस्दी गाउँपालिकाको मुख्य पहुँच मार्गको रुपमा रहेको  पाल्पा तर्फको सडक अझै स्तरोन्नति नहुँदा स्थानीयलाई सास्ती भएको भन्दै आधा घण्टा धर्ना दिएका हुन् । निस्दी आवाज युवा सञ्जालका युवाहरुले गाउँपालिका कार्यालयमा पुगेर विहान साढे ११ देखि १२ बजे सम्म धर्ना दिएको थियो ।

"निस्दीलाई उपहार धुलो र हिलो, सडक स्तरउन्नतिमा किन ढिलो, निस्दीलाई विकास भिर माथिको फल बन्यो, बाटो खन्यो माकुरी रहरो झै गाडी गुल्टेर काल बन्यो, जनतालाई सास्ती भो, बिर्स्यौ दुर्घटना अस्तीको ?', लेखिएका प्ले कार्डसहित उपस्थित युवाहरुले धर्ना दिएर माग पत्रसहित ध्यानाकर्षण पत्र बुझाएको छ।

झण्डै ४९ वर्षअघि रेखाङ्कन भएर यस सडक खण्डको ट्रयाक खुलेको वर्षौं भैसक्दा समेत लुम्बिनी प्रदेशको पाल्पा तर्फको स्तरोन्नति हुन सकेको छैन । गण्डकी प्रदेशमा पर्ने भाग जलुकेदेखि अरुणखोला सम्म पुल निर्माणदेखि सडक कालोपत्र पूरा भईसकेको छ । 

सडक स्तरोन्नति नहुँदा खडेरीमा धुलैधुलो, बर्खामा हिलैहिलो र पहिरो खस्ने समस्या भएकाले सवारी साधन पनि चल्नै नसक्ने अवस्था सिर्जना हुने भएकाले सरकारको ध्यानाकर्षणको लागि सांकेतिक रुपमा आधा घण्टा धर्नाको कार्यक्रम गरिएको स्थानीय युवा कमल सारुले बताउनुभयो । उहाँले भन्नुभयो, "प्रदेश देखि सङ्घ सरकार सम्मको ध्यानाकर्षण होस् भन्ने उद्देश्यले युवाहरु जुटेर कार्यक्रम गरेका हौं ।"

सडकको स्तरोन्नति नहुँदा जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता रहेको स्थानीय युवा विमल क्षेत्रीले बताउनुभयो ।उहाँले भन्नुभयो, "४९ वर्ष अघि रेखाङ्कन भएर अघि बढेको सडक ट्रयाक खुले पछि गण्डकी प्रदेशतर्फ पिच भैसक्यो । सरोकारवाला निकायको वेवास्ताले सास्ती खेप्न बाध्य छौं," दबाब स्वरुप कार्यक्रम गरिएको क्षेत्रीले बताउनुभयो ।

युवाहरुले आगामी बजेटबाट यस सडक खण्डलाई विशेष महत्त्वका साथ प्रर्याप्त  बजेट विनियोजन गर्न माग गरेको छ । साथै क्षतिग्रस्त सडक खण्डहरूको तत्काल निरीक्षण गरी मर्मतसम्भार गर्न, सडकको दीर्घकालीन स्तरोन्नति गर्न, सडकको स्तरोन्नति गर्न निश्चित र उपयुक्त समय सीमा  निर्धारण गर्न माग गरेक‍ो छ । मुद्दालाई गम्भीरताका साथ लिन समेत आग्रह गरेको छ ।

निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले ध्यानाकर्षण पत्र बुझ्‌दै पालिकाको पहुँच मार्गको  सडक खण्ड स्तरोन्नतिको कार्य पालिका आफैले गर्न नमिल्दा समस्या भएको बताउनुभयो । ‘संघले प्रर्याप्त बजेट विनियोजन नगर्ने, संघले काम अघि बढाएको सडकमा प्रदेश र गाउँपालिका आफैले बजेट खर्च गर्न पनि नपाउने भएकाले समस्या भएको हो," उहाँले भन्नुभयो ।

पालिकाले सडक स्तरोन्नतिको लागि निरन्तर ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो । उहाँले युवाहरुलाई रचनात्मक साथ र सुझाव दिन अनुरोध समेत गर्नुभयो ।  युवाहरुले चालेको सकारात्मक कदम प्रति उहाँले धन्यवाद दिनुभयो ।