• २३ माघ २०८१, बुधबार

किसानले जोते तरकारी

blog

चितवन समाचारदाता

चितवन, माघ २२ गते । तरकारी बिक्री नभएपछि चितवनका किसानले खेतमै ट्याक्टरले जोतेर नष्ट गरेका छन् । टिप्ने श्रमको ज्याला र ढुवानी भाडासमेत नउठ्ने भएपछि अर्को खेती गर्न किसानले तरकारी नष्ट गरेका हुन् । 

लाखौँ खर्च गरी उत्पादन गरेको तरकारीको पछिल्लो समय मूल्य नपाएपछि पश्चिम चितवनका किसानले एकसाथ तरकारी खेतीमा ट्याक्टर लगाएका हुन् । आफूले उत्पादन गरेको तरकारी उत्पादनले बजार भाउ नपाएपछि भरतपुर–२६, दिव्यनगरका नवदत्त अधिकारी र जयराम दराईले काउली, बन्दा र फर्सीमा ट्याक्टरले जोत्नु भएको हो । केही दिनअघि भरतपुर–२६ का दीपक तिमल्सिनाले तीन बिघाको फर्सी र सोही स्थानकै वसन्त खतिवडाले दुई बिघामा लगाएको फर्सी नष्ट गर्नुभएको थियो । भरतपुर–२४, नयाँबस्तीमा रहेको केरुङ्गा ताजा तरकारी तथा फलफूल सहकारी संस्थामा आबद्ध किसानले खेतको तरकारी ट्याक्टरले जोतेर नष्ट गरिसकेका छन् । 

कृषक नवदत्त अधिकारीले २१ कट्ठाभन्दा बढी क्षेत्रफलमा लगाएको फूलकोपी नष्ट गरेको बताउनुभयो । तरकारी बारीबाट नउठेर छिप्पिन थालेपछि ट्याक्टर लगाएर नष्ट गर्नु परेको उहाँले बताउनुभयो । बारीमा लगाएको बन्दा, फर्सीलगायत तरकारीको मूल्य नपाएको भन्दै २१ वर्षदेखि कृषि पेसामा संलग्न उहाले सधैँ यस्तै भए तरकारी खेतीबाट अब हात धुनुपर्ने अवस्था आउने गरेको गुनासो गर्नुभयो । 

चार बिघामा तरकारी लगाएकोमा केहीमा रहेको सिमी र अरूमा रहेको बन्दा व्यापारीलाई सित्तैमा लैजान आग्रह गर्दासमेत लैजान नमानेकाले कुहेर जान लागेको जानकारी दिनुभयो । तरकारी नबिकेपछि करिब ३५ लाख रुपियाँ बराबरको नोक्सान भएको उहाँले बताउनुभयो । करिब २० लाख रुपियाँको लगानीमा २१ कट्ठामा काउली लगाएको तर पटक पटक बजार पठाउन ताकिता गर्दा पनि काउली बिक्री नहुने भएपछि जोत्न बाध्य भएको उहाँले सुनाउनुभयो । 

यसै गरी जयराम दराईले छ कट्ठामा लगाएको फर्सी नष्ट गर्नुभएको छ । बजारमा फूलकोपीको मूल्य प्रतिकेजी १० रुपियाँ हाराहारी भए पनि धेरै उत्पादन भएपछि कृषकको तरकारी नउठेको हो । तरकारी उत्पादन हुने मुख्य समयमा उत्पादित तरकारी बिक्री नहुँदा चिन्ता बढेको उहाँले बताउनुभयो । भारतबाट ठुलो परिमाणमा तरकारी आयात हुनाले यहाँका किसानको उत्पादनले बजार पाउन सकेको छैन । 

२० वर्षदेखि निरन्तर तरकारी खेती गर्दै आएका शक्तिश्वर कृषि फार्म भरतपुर–२६, खत्रौलीका व्यावसायिक कृषक दीपक तिमल्सिनाले तीन बिघाको फर्सी नष्ट गर्नुभएको छ । उहाँले ३५ कट्ठामा तरकारी खेती गर्दै आउनुभएको छ । “भाउ पाइएला कि भनेर कुर्दाकुर्दै तरकारी बिक्री नभएको र अर्को बाली लगाउने समयसमेत आएकाले बाध्य भएर तरकारीसहित बारी जोताउनु परेको छ,” उहाँले भन्नुभयो । 

यस्तै भरतपुर–२६ का वसन्त खतिवडाले कागती खेती गर्न छाडेर यसै वर्षदेखि तरकारी खेती सुरु गर्नुभएको थियो । बजार नपाएर तरकारी नष्ट गर्नु परेको उहाँले गुनासो गर्नुभयो । अहिले तरकारी खेती गर्ने किसान दयनीय अवस्थामा पुगेको भरतपुर–२६ का नारायण ढकालले बताउनुभयो । भारतीय उत्पादनका कारण नेपालमा तरकारी खेती गर्न मुस्किल भएको उहाँले बताउनुभयो । 

समयमा मलखाद र बिउ नपाइनु, सिँचाइ सुविधाको अभाव, बिक्री केन्द्र नहुनु र बिचौलिया हाबी हुँदा व्यावसायिक तरकारी खेती गर्दै आएका किसान मर्कामा परेका छन् । सरकारले किसानलाई रासायनिक मलको पर्याप्त व्यवस्था, उत्पादनको सहज बिक्रीवितरणको व्यवस्था मिलाउनुपर्ने किसानको भनाइ छ ।