काठमाडौँ, माघ २१ गते । अमेरिकाको भर्जिनिया राज्यमा रहेको नेपालीहरूको संस्था डिएमभी युथ एकेडेमीले प्रथम खुला जोडी तथा एकल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितमा जोडीतर्फ मेरिल्यान्ड राज्यबाट सहभागी कुल रोक्का र किशोर श्रेष्ठको टिमले प्रथम स्थान हासिल गरेको छ । उक्त टिमले फाइनल खेलमा लगातार दुई सेट जित्दै सोही राज्यबाट सहभागी भीम र निसानको टिमलाई पराजित गरेको हो । प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई नगद पुरस्कार तथा पदक प्रदान गरिएको थियो ।
यस्तै एकल ब्याडमिन्टन प्रतियोगितामा कुल रोक्काले प्रथम स्थान हासिल गर्नुभयो । भर्जिनियाबाट सुमनराज बज्राचार्य बेस्ट फेयर प्ले अवार्ड जित्न सफल हुनुभयो । डिएमभी युथ एकेडेमीले खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा जोडीतर्फ सात तथा एकलतर्फ १४ टिम सहभागी थिए ।
प्रतियोगिताका विजेतालाई एकेडेमीका अध्यक्ष प्रदीप कार्की, बोर्ड सदस्यहरू माधव गौतम, प्रदीप घत्री तथा समाजसेवी हरिराम भण्डारी र अच्युत खनियाले पुरस्कार वितरण गर्नुभयो । कार्यक्रम सञ्चालन एकेडेमीका बोर्ड सदस्य मिलन गोरखालीले गर्नुभएको थियो । एकेडेमीले आगामी दिनमा पनि खेलकुद गतिविधि सञ्चालन गर्ने जनाएको छ ।