सन्ताेष सुबेदी
कास्की, माघ २१ गते । गण्डकी प्रदेशमा दिवा शिशु स्याहार केन्द्र खुलेको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र पोखरा महानगरपालिकाको समन्वयमा पोखरा ८ स्थित श्रीराम आधारभूत विद्यालय सिमलचौरमा स्थापना गरिएको हाे ।
केन्द्रको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नुभयो । मन्त्री थापाले कर्मचारीका शिशुहरूलाई सुरक्षित, स्नेहपूर्ण तथा सहज वातावरणमा हुर्कने अवसर प्रदान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको बताउनुभयो ।
उहाँका अनुसार कार्यालय समयमा बाबुआमा आफ्नो कार्यमा केन्द्रित रहँदा उनीहरूका सन्तानले उचित संरक्षण, स्याहार–सुसार तथा समुचित विकासको अवसर प्राप्त गर्नेछन् ।
“हाम्रो उद्देश्य व्यवस्थित, पारदर्शी र प्रभावकारी केन्द्र सञ्चालन गर्दै कर्मचारीहरूलाई आफ्नो कर्तव्यप्रति अझ प्रेरित गर्नु हो । यस कदमले कार्यस्थलमा उत्पादकत्व वृद्धि गर्दै समाजमा परिवारमैत्री वातावरण सिर्जना गर्न योगदान गर्नेछ”, उहाँले भन्नुभयो ।
सामाजिक विकास महाशाखा प्रमुख मुना अधिकारीले प्रदेश सरकारले प्राथमिकता र महत्त्वका साथ शिशुु स्याहार केन्द्रको स्थापना गरेको उल्लेख गर्नुभयो । सरकारी कर्मचारीका ६ महिना देखि तीन वर्षसम्मका शिशुहरूलाई उक्त स्याहार केन्द्रमा राख्न सकिने बताउनुभयो । यसका लागि दक्ष मन्टेश्वरी तालिम प्राप्त कर्मचारीको व्यवस्थापन गरिएको भनाइ उहाँको छ ।
बालबालिकाको पोषण र बालविकासलाई ध्यानमा राखेर सेवा प्रवाह गर्ने उहाँले बताउनुभयो ।