अमृतप्रसाद पौडेल
म्याग्दी, माघ २१ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका –५ झिँको वडा कार्यालय भवन निर्माण सम्पन्न भएकाले अब चाँडै आफ्नै भवनबाट सेवा प्रदान गर्ने भएको छ ।
हालसम्म भाडाको कार्यालयबाट सेवा दिँदै आएको वडा कार्यालयको कम्पाउन्डिङ लगायतका आवश्यक फिनिसिङपछि आफ्नै भवनबाट सेवा दिने तयारी भएको वडा अध्यक्ष मनबहादुर शेरमन्जाले जानकारी दिनुभयो ।
वडा कार्यालय भवन निर्माणका लागि ९६ लाख ६० हजार आठ सय ८७ रुपियाँ ७८ पैसा लागत स्टिमेट गरिएको थियो । लागतअनुसार टेन्डरमार्फत ७६ लाख १२ हजार तीन सय ३० रुपियाँ ५४ पैसामा शंकर निर्माण सेवाले निर्माणका लागि सम्झौता गरेको थियो ।
रघुगङ्गा गाउँपालिकाका इन्जिनियर कमलबहादुर चोखालका अनुसार भवन निर्माणको कार्य सबै सकिएको र ७१ लाख ६६ हजार चार सय १५ रुपियाँ ५५ पैसा ठेकेदारलाई भुक्तानी समेत भएको छ । निर्माण सम्पन्न गरेर ठेकेदारले भवन गाउँपालिकालाई हस्तान्तरण गरिसकेको भए पनि औपचारिक उदघाटन हुन बाँकी रहेको छ ।
हाल वडा कार्यालय भाडाको घरमा सञ्चालनमा रहेको र अब चाँडै नै उद्घाटन गरी आफ्नै भवनबाट कार्यालय सञ्चालन गरिने वडाध्यक्ष मनबहादुर शेरमञ्जाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘भवनको काम सकिएको छ, अब कम्पाउन्ड पर्खाल र अगाडिको मैदान लगायतको केही काम बाँकी रहेकाले कार्यालय सार्न पाइएको छैन ।’ गएको असारमै भवन निर्माण सकेर हस्तान्तरण गरेको भए पनि भवनभन्दा बाहिरको काम बाँकी रहेको हुनाले कार्यालय सार्न नसकिएको उहाँको भनाइ छ ।
दुई तले भवनको माथिल्लो तलामा हल रहेको छ भने तल्लो तलामा चार कोठा, ट्वाइलेट बाथरुम लगायतको संरचना रहेको छ । अपाङ्गता भएका नागरिकहरूले पनि सहज तबरले सेवा पाउन भन्ने हेतुले नै निर्माण गरिएको उक्त भवन अपाङ्गतामैत्री रहेको इन्जिनियर चोखालको भनाइ छ ।