• २३ माघ २०८१, बुधबार

बाँकेमा आख्यान महोत्सव

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, माघ २१ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सृजना कला साहित्य प्रतिष्ठानको समन्वयमा नेपालगन्जमा ‘बाँके आख्यान महोत्सव’ सम्पन्न भएको छ । महोत्सवमा बाँकेको निबन्ध लेखन, रैथाने कथा लेखन, आख्यान लेखन र आख्यानको अवस्थाबारे विस्तृत रूपमा चरणबद्ध छलफल भएको प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालले बताउनुभयो । 

महोत्सवमा यस क्षेत्रका साहित्यकारद्वारा राखिएका विभिन्न जिज्ञासाको जवाफ दिँदै प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले प्रतिष्ठानलाई सबै भाषा र सबै ज्ञानको साझा बनाउन आफूहरू लागिपरेको बताउनुभयो । उहाँले देशभित्रका लोपोन्मुख भाषा संरक्षणका लागि प्रतिष्ठानले स्थानीय तहमा गठन भएका प्रतिष्ठानहरूसँग सहकार्य गर्दै अगाडि बढ्न चाहेको बताउनुभयो । 

प्रतिष्ठानका गद्य विभाग प्रमुख अमर न्यौपानेले प्रतिष्ठान नलेखिएका कथाहरू खोज्दै विभिन्न प्रदेश तथा जिल्लामा पुगेको बताउनुभयो । नलेखिएका कथाहरू बाहिर ल्याउनु प्रतिष्ठानको दायित्व भएको पनि उहाँले बताउनुभयो । कार्यक्रमको पहिलो चरणमा बाँकेको निबन्धका विषयमा साहित्यकार पुष्कर रिजालले विस्तृत रूपमा जानकारी गराउनुभएको थियो । दोस्रो चरणमा ‘बाँकेका रैथाने कथा’ शीर्षकमाथि बहस भएको थियो । पत्रकार शुक्रऋषि चौलागाईंले सहजीकरण गर्नुभएको सो कार्यक्रममा वरिष्ठ कथाकार सनत रेग्मी, कथाकारहरू किरण आचार्य, शेखर दहित र विष्णु कुम्हाल बहसमा सहभागी हुनुभएको थियो ।

तेस्रो चरणको कार्यक्रम अन्तर्गत ‘कस्तो आख्यान लेख्ने ?’ भन्ने बहसमा प्रतिष्ठानका सदस्यसचिव डा. सुवेदी, परिषद् सदस्य तथा गद्य विभाग प्रमुख न्यौपाने र वरिष्ठ कथाकार रेग्मी सहभागी हुनुहुन्थ्यो । यो चरणको बहसको सहजीकरण कथाकार सुमित्रा न्यौपानेले गर्नुभएको थियो । चौथो चरणको कार्यक्रममा ‘बाँकेको आख्यान’ विषयमा साहित्यकार ईश्वरी रिजालले प्रवचन दिनुभएको थियो । महोत्सवमा सिर्जना कला तथा साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ शशिराम कार्की, प्राज्ञ सभा सदस्य महानन्द ढकाल, खजुरा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. इन्द्र भण्डारी, जितबहादुर शाहलगायतले आख्यानका बारेमा आआफ्ना धारणा राख्नुभएको थियो ।