नवीनराज कुइँकेल
लमजुङ, माघ २० गते। लमजुङको मर्स्याङ्दी गाउँपालिकाले स्थापनाको ७ वर्षपछि नयाँ प्रशासकीय भवनबाट सेवा प्रारम्भ गरेको छ। आइतबार मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा निर्मित प्रशासकीय भवनको उद्घाटनसँगै सेवा प्रवाह सुरु गरेको हो।
नवनिर्मित भवनको नेपाल सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो। उहाँले स्थानीय सरकारले ठुला काम भन्दा पनि नागरिकलाई सर्वसुलभ सेवा दिनेगरी काम गर्नुपर्ने बताउनुभयो। उहाँले स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि उत्पादन, बजारीकरणका क्षेत्रमा काम गर्न सुझाव दिनुभयो।
भवन शिलान्यास भएको १८ महिनाम निर्माण सम्पन्न भएको हो। निर्वाचनको समयमा जनतासँग गरिएको प्रतिबद्धता अनुरूप एउटै भवनबाट सबै शाखाका सेवा प्रवाह गर्नेगरी प्रशासकीय भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिनुभयो।
प्रशासकीय भवनको पहिलो तल्ला अपाङ्गमैत्री छ भने भवनको संरचनामा नै बेसमेन्ट पार्किङको समेत सुविधा छ। भवनसँगैको भित्तोलाई सदुपयोग गरेर क्यान्टिन निर्माण गरिएको छ। २८ वटा कोठाको तीन तले भवनमा अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यकक्ष सहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका छुट्टाछुट्टै कार्यकक्ष रहने छ।
हाल गाउँपालिकाको भवन नहुँदा साविकको भुलभुले गाविस भवनमा गाउँपालिका कार्यालय, पञ्च विचार प्राविमा वडा कार्यालय र केही शाखा कार्यालय सञ्चालनमा रहेका थिए केही शाखा खुदीमा सञ्चालन भइरहेको छ।
२०८२ जेठ २३ सम्म निर्माण सम्पन्न गर्ने सम्झौता भएको भवनको २०८१ फागुन १५ गते अध्यक्ष गुरुङले शिलान्यास गरेर निर्माण कार्यको प्रारम्भ गर्नुभएको थियो। भवन निर्माणको लागि सङ्घीय सरकार स्थानीय पूर्वाधार कार्यालय र मर्स्याङ्दी गाउँपालिकाले ६०÷४० लागत बेहोर्ने गरी भ्याटसहित पाँच करोड ९७ लाख ६६ हजार ७ सय ६ रुपियाँमा भवन निर्माणका लागि सम्झौता गरिएको थियो।
भवन निर्माणको काम शैलेन्द्र–जयज्योती–बौद्धनाथ जे.भीले गरेको थियो। २०८० जेठ २३ गते सम्झौता भई २०८२ जेठ २३ गते भित्र बनाइसक्ने गरी सम्झौता भए पनि तोकिएको समय अगावै भवन निर्माण गरेर हस्तान्तरण भएको इन्जिनियर सुरेश गौतमले जानकारी दिनुभयो। तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न भएमा निर्माण कम्पनीलाई पुरस्कृत हुने र कमिसन रकम पाउने व्यवस्था रहेको उहाँले बताउनुभयो।