• २० माघ २०८१, आइतबार

गृहमन्त्री लेखकद्वारा कलौनीप्रति श्रद्धाञ्जली अर्पण

blog

मृतक अच्युतराज कलौनीको शवयात्रा गरिदैं ।

अविनाश चौधरी

धनगढी, माघ २० गते । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस भीमदत्त नगर समितिका सभापति अच्युतराज कलौनीको पार्थिव शरीरमा झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनु भएको छ । 

श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस पार्टी कार्यालयमा राखिएको कलौनीको पार्थिव शरीरमा आज कांग्रेसको झण्डा ओढाएर उहाँले श्रद्धाञ्जली दिनुभएको हो । श्रद्धाञ्जली सभामा कांग्रेस नेता, कार्यकर्तासहित सर्वसाधारणको उपस्थिति थियो । 

शनिबार बिहान भीमदत्त नगरपालिका –१८ स्थित मामाभान्जा चोकनजिक सडकपेटीमा कलौनी मृत अवस्थामा फेला पर्नुभएको थियो । उहाँको शव घोप्टो परेको अवस्थामा रहेको थियो । पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको कलौनीको शव श्रद्धाञ्जलीका लागि कांग्रेस पार्टी कार्यालयमा राखिएको थियो । मृतकको महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । 

कलौनीको घटना छानबिनका लागि भिसेरा परीक्षण गरिएको छ । फरेन्सिक परीक्षण रिपोर्ट आउन बाँकी रहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताउनुभयो । उहाँले फरेन्सिक जाँच रिपोर्ट आएपछि घटनाको अनुसन्धानमा थप सहज हुने उल्लेख गर्नुभयो ।