• २० माघ २०८१, आइतबार

सदरमुकाममै सडक निर्माण अलपत्र

blog

कालोपत्रेको काम अलपत्र परेपछि जर्जर अवस्थामा रहेको मलङ्गवास्थित हुलाकी राजमार्ग । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, माघ  २० गते । हुलाकी राजमार्ग अन्तर्गत सर्लाही सदरमुकाम मलङ्गवास्थित मुख्य बजार क्षेत्रको सडक निर्माण लामो समयदेखि अलपत्र रहँदा स्थानीय रुष्ट बनेका छन् । पछिल्लो पटक सडकमा चक्काजाम गरी टायर बालेर आन्दोलन सुरु गर्दा एक महिनाभित्र सडक कालोपत्रे हुने बताइए पनि काम अगाडि बढ्न नसकेपछि स्थानीय पुनः असन्तुुष्ट बनेका हुन् । मलङ्गवाको मुख्य बजार क्षेत्र रहेको टावर चोक, राजश्री सिनेमा हल चोक, शिक्षा विकास तथा समन्वय एकाइ रहेको क्षेत्रमा हुलाकी सडक कालोपत्रे हुन सकेको छैन । 

नाला निर्माण तथा सडकको क्षेत्रभित्र पर्ने जग्गा खाली गर्ने विषयमा विवाद हुँदा लामो समयदेखि काम रोकिएको हो । बेला बेलामा काम हुने गरे पनि कामको गति अत्यन्त सुस्त रहेको स्थानीयको भनाइ छ । 

स्थानीय बासिन्दाले पछिल्लो समय ठेकेदारले बदमासी गरेर काम अघि नबढाएको आरोप लगाएका छन् । पटक पटक भाका तोकेर ठेकेदारले कामै नगर्ने प्रवृत्ति रहेको मलङ्गवा निवासी नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले बताउनुुभयो । 

मलङ्गवाको हुलाकी सडक निर्माणमा दबाब दिन स्थानीयले पटक पटक आन्दोलन गर्ने र ठेकेदारले स्थानीयलाई समय दिने तर काम नगर्ने परिपाटी दोहोरिँदै आएको छ । मुख्य बजार क्षेत्रको सडक कालोपत्रे नहुँदा सडक आसपास घर भएका स्थानीय, व्यापारी र यात्रु धुुलोबाट हैरान रहेका छन् । 

सडकमा हिजोआज असाध्यै धुलो उड्दा घरबाहिर निस्किएर बस्न सक्ने अवस्था नरहेको स्थानीय युवा सोहन झाले गुनासो गर्नुभयो । सर्लाहीका नागरिक समाज र मानव अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई भेटेरै मलङ्गवाको हुलाकी सडक कालोपत्रे र नाला निर्माणको सम्बन्धमा पहल गरिदिन माग गरेका छन् । 

हुस्सु लागेर कालोपत्रेका लागि आवश्यक पर्ने तापव्रmम नरहेकाले तत्कालै सडक कालोपत्रे नहुने भन्दै स्थानीय बासिन्दाले नैराश्यता व्यक्त गरेका छन् । हुलाकी सडक आयोजना जनकपुरले मलङ्गवा बजार क्षेत्रको सडकमा कालोपत्रेको काम पूरा गर्न ठेकेदारलाई बारम्बार ताकिता गरिरहेको बताउँदै आएको छ । 

हुलाकी राजमार्ग अन्तर्गत सर्लाहीमा मलङ्गवा बजार क्षेत्र र मलङ्गवाकै मुसैली गाउँमा मात्रै सडक कालोपत्रे हुन बाँकी छ । हुलाकी राजमार्गको केही स्थानमा पहिलो चरणको कालोपत्रे उप्किएर खाल्टाखुल्टी पर्न थालिसकेका छन् ।